‘आर्थिक कुटनीति भनेको विदेशी अनुदान र विदेशी लगानी भित्र्याउने मात्र होइन’


काठमाडौं ।

पछिल्लो समय नेपालले आर्थिक कुटनीतिमा जोड दिँदै आएको छ । विदेशस्थित नेपाली दूताबासहरूलाई आर्थिक कुटनीतिमा ध्यान दिन परराष्ट्र मन्त्रालयले निर्देशन दिने गरेको छ । तर दीर्घकालीन योजना र ठोस उद्देश्य विनाको आर्थिक कुटनीतिको कुनै अर्थ नरहने प्राध्यापक सूर्यप्रसाद सुवेदी बताउनुहुन्छ । उहाँले अबको विश्व कुटनीति आर्थिक कुटनीतिमा नै केन्द्रित रहेको जिकिर गर्दै भन्नुभयो–दीर्घकालीन योजना तथा ठोस उद्देश्य विनाको विदेशी अनुदान र विदेशी लगानीका लागि होईन दीगो आर्थिक विकासका लागि दीर्घकालीन योजना तथा ठोस उद्देश्यसहितको आर्थिक कुटनीति जरुरी छ ।’

परराष्ट्र मन्त्रालयले मंगलबार साँझ आयोजना गरेर्को प्राध्यापक यदुनाथ खनाल प्रवचनको पहिलो श्रृंखलामा नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य’ शीर्षकमा प्रवचन दिंदै प्राध्यापक सुवेदीले दीगो आर्थिक विकास कुटनीतिमा जोड दिनुभएको हो । उहाँले देशमा अन्तर्राष्ट्रिय सहयोग वा विदेशी लगानी बढाउनु, धेरैभन्दा धेरै पर्यटक भित्र्याउनुमा मात्र आर्थिक कुटनीति सिमित हुन नहुनेमा जोड दिंदै भन्नुभयो –हामीले विश्वव्यापीकरण, व्यापार तथा लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौता र वातावरण संरक्षणबाट पनि फाईदा लिन सक्नुपर्छ ।’

उहाँले देशको अधिकतम हित र विकासको लागि विदेशी लगानी आक्रर्षित गर्न र त्यसको उचित व्यवस्थापन गर्न राजनीतिक स्थीरता र मानवअधिकार तथा स्वतन्त्र न्याय प्रणालीमा आधारित विधीको शासन हुनु अनिवार्य शर्त भएको जिकिर गर्दै नेपालको ध्यान त्यसतर्फ जानुपर्ने बताउनुभयो । विश्वमा थुप्रै देशहरूले दीर्घकालीन योजना र ठोस उद्देश्य विना नै विदेशी लगानी भित्र्याएका छन् र उनीहरूले त्यस्तो लगानीबाट कुनै दीर्घकालीन लाभ हासिल नगरेको जिकिर गर्दै प्रा. सुवेदीले भन्नुभयो–विदेशी लगानी भित्र्याउन, त्यसको उचित व्यवस्थापन गर्न र त्यसलाई टिकाएर अधिकतम फाइदा लिन नेपालले एउटा संवेदनशील कानुनी र नीतिगत संरचना तयार गर्नुपर्छ । द्विपक्षीय लगानी सम्झौतामा प्रविधी हस्तान्तरण, स्थानीयलाई महत्वपूर्ण जिम्मेवारीका साथरोजगारी, स्थानीय कच्चा पदार्थको प्रयोग र प्रतिफलको निश्चित हिस्सा राष्ट्रको हितमा नै प्रयोग गर्नुपर्ने जस्ता व्यवस्थाहरू समेटिनु पर्दछ ।’

कार्यक्रममा प्रा. सुवेदीले नेपाललाई अन्तराष्ट्रिय वित्तिय सेवा केन्द्रको रुपमा पनि विकास गर्न सकिने धारणा अघि सार्नुभयो । उहाँले हाम्रा दुबै छिमेकी राष्ट्रका नागरिकहरू धनी हुँदै जादाँ उनीहरूले आफ्नो धनसम्पत्ति सुरक्षित राख्न कुनै सुरक्षित देश खोज्ने हुँदा नेपाले यसको लाभ उठाउँदै आफूलाई स्वीजरल्याण्ड, सिंगापुर जस्तै देशहरूको लहरमा उभ्याउनसक्ने तर्क राख्नुभयो ।आर्थिक विकासकै सन्दर्भमा नेपालले आफूलाई ठूलो अर्थतन्त्र र जनसंख्या भएको दुई छिमेकी भारत र चीनबीर्च ट्रान्जिट स्टेट’ को रुपमा उभ्याउन सक्ने सम्भावना रहेको जिकिर गर्दै उहाँले चीनको पश्चिम तिब्बत र काठमाडौं जोड्ने रेल दुरगामी महत्वको परियोजना हुनसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले हिमाली क्षेत्रको पर्यावरणमा हानी नपु-याई चीन र भारत जोड्ने गरी उक्त रेल परियाजना बनाउन सके यो क्षेत्रकाे गेमचेन्जर’ बन्नसक्ने दावी गर्नुभयो ।

परराष्ट्र सम्बन्ध र अन्तर्राष्ट्रिय कानुनबारे नेपाल, बेलायतलगायत विभिन्न राष्ट्रलाई परामर्श दिएका प्रा. सुवेदीले नेपाल दुई दुंगाबीचको तरुल भन्ने कथन अब पुरानो भैसकेको जिकिर गर्दै नेपालले आफ्ना दुई छिमेकीसँगको सम्बन्ध व्यवस्थापन नयाँ विश्व परिवेशअनुसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल हिन्दु र बौद्ध सभ्यताको जन्मस्थल भएको र यसले शताब्दीदेखि नै शान्ति, बहुसंस्कृति र सहिष्णुताको सन्देश फैलाउँदै भारतीय र चिनियाँ सभ्यताबीच पुलको काम गरिरहेको उल्लेख गर्दै नेपालले विश्वलाई दिनसक्ने धेरै कुरा भएको बताउनुभयो ।