प्रथम चरणको विशेष प्रशिक्षण आजदेखि


काठमाडौं । 

चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीको पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विशेष प्रशिक्षणको त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले सम्बन्धित खेलका समन्वयकर्तालाई खेल सामग्री पनि हस्तान्तरण गरेका थिए ।

खेलाडीको क्षमता र कौशल अभिवृद्धि गर्नुका साथै वैज्ञानिक विधिबाट प्रशिक्षण प्रदान गर्दै नतिजामूलक उपलब्धि हासिल गर्न प्रशिक्षणको शुरुआत गरिएको हो । प्रशिक्षणमा विभिन्न २३ खेलका ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक गरी ५ सय ८० जना समावेश हुनेछन् । खेलाडीमा २ सय ३० पुरुष र २ सय ८४ महिला छन् ।
खेलहरूमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । यी खेलका खेलाडी छनोट गर्न प्रारम्भिक छनोट प्रतियोगिता पनि आयोजना भएको थियो ।

पहिलो चरणको विशेष प्रशिक्षण असार २३ गतेसम्म सञ्चालन हुने छ । दोश्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ । प्रशिक्षणका लागि विज्ञहरू पनि परिचालन गरिने छ ।कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको शुरुआत गरिएको बताउँदै ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको बताए । उनले एसियाली खेलकुद मात्र नभई प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगितको तयारीलाई पनि सहज हुने बताउँदै खेलाडीहरूकै उपलब्धिका कारण खेलकुदका निकाय मात्र नभई सिंगो राज्यले गर्व महशुस गर्ने वातावरण बनेको धारणा व्यक्त गरे ।

प्रशिक्षका तर्फबाट भारोत्तोलनका प्रमुख प्रशिक्षक राम पौडेलले प्रशिक्षणले नियमितरूपमा निरन्तरता पाउनुपर्नेमा जोड दिए । १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठले देशलाई केही दिनुपर्छ भन्ने जोस खेलाडीमा पनि भएकाले प्रशिक्षण शुरु भएकोमा खुसी व्यक्त गरिन् ।