पर्वतका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक अभाव



पर्वत ।

पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ९ मा झण्डै १५० विद्यार्थी अध्ययनरत छन्। उनीहरुमध्ये १५÷१६ जनाले मात्रै पूरा पाठ्यपुस्तक पाएका छन्। बाँकी विद्यार्थीले फरक–फरक विषयका एकदुई वटा पुस्तक मात्र हात पारेका छन्।

कक्षा ९ मात्रै होइन अरु सबै कक्षामा अध्ययनरत विद्यार्थीले पनि पुस्तक पाउन सकेका छैनन । जेठ १ मा सुरु भएको नयाँ शैक्षिक सत्रको एक महिना हुन लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक परेको छैन।

फलेवास नगरपालिका–४ मुडिकुवाको शारदा आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत मनिष भण्डारी पुस्तक नपाएका कारण राम्रोसँग अध्ययन गर्न नपाएको बताउँनुहुन्छ । विद्यालय जान थालेको एक महिनासम्म पनि नपाउँदा अघिल्लो वर्षका पुस्तक खोजे पनि पूरै नपाएको उहाँको भनाइ छ। ‘अहिलेको किताब १्२ वटा मात्रै पाएको हो। पढ्नै नपाएर अहिले ६ मा गएकाको किताब मागेको त्यो पनि पूरा छैनन्,’ उहाँले भन्नुभयो ‘किताब नै नभएपछि के पढ्ने त घरमा? स्कुलमा त सरले पढाएको सुनेर बसे भयो।’

विद्यार्थी किताब नपाएका कारण कक्षामा शिक्षकले बोलेका कुरा टिपोट गर्न झोलामा एउटा कपी बोकेर विद्यालय जान परेको बताउँछन्। नारायण माविका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले पुस्तक नहुँदा पढाइमा समस्या भएको बताउनुहुन्छ । ‘शिक्षकले त पाठ्यक्रम अनुसार शिक्षण अगाडि बढाउनुहुन्छ। तर विद्यार्थी समस्यामा परेका छन्,’ पोखरेल भन्नुहुन्छ ‘घरमा पुगेर अभ्यास गर्नका लागि सामग्री अभाव हुन्छ। सामग्री नखोजी पाठ्यपुस्तकमै भर पर्नु मात्रै रहेकाले समस्या भएको हो।’ पाठ्यपुस्तक हातमा नपर्दासम्म विद्यार्थीले नियमित पठनपाठन नभएको महसुस गर्ने भएकाले नियमित अभ्यासको मानसिकतामा नहुन सक्ने उहाँको भनाइ छ।

पर्वतको सदरमुकाम कुश्मा बजारमा पुस्तक पसल गर्दै आएका भीमनाथ रेग्मीका अनुसार निजी विद्यालयका पुस्तक उपलब्ध भए पनि सामुदायिक विद्यालयका पाठ्यपुस्तक अभाव छ । जिल्लाका अधिकांश विद्यालयमा पुस्तक पठाउँदै आएको जय दुर्गा स्टेशनरी कुश्माका सञ्चालक गणेश पौडेलले कक्षा ४, ७ र ९ मा समस्या भएको बताउनुभयो । कुश्माका अर्का स्टेशनरी व्यवसायी मदन शर्माले जेठ महिनासम्म जतिसक्दो धेरै पुस्तक माग गरेर विद्यालयमा पठाउने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्