मोटरसाईकल दुर्घटनामा परी राप्रपाका पूर्व जिल्ला अध्यक्ष श्रेष्ठको निधन

28
Shares

 खोटाङ ।

मोटरसाईकल दुर्घटनामा परी उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका पूर्व अध्यक्ष जीवन श्रेष्ठको निधन भएको छ । जेठ २० गते शुक्रबार दिक्तेलबजारमा मोटरसाईकलले ठक्कर दिएका ५७ बर्षीय श्रेष्ठको आईतबार निधन भएको हो ।

दिक्तेलबजार निवासी श्रेष्ठलाई आफ्नै निवास रत्नपार्कमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङनिवासी १७ बर्षीय अभिषेक राईले चलाएको मोटरसाईकलले ठक्कर दिएको थियो । दिनको करिव साँढे एक बजे भएको दुर्घटना लगत्तै हेलिकोप्टरमार्फत काठमाण्डौंको बाँसबारीस्थित न्युरो हस्पिटल पु¥याईएको पूर्व अध्यक्ष श्रेष्ठलाई आईतबार बिहान ९ बजे अस्पतालले मृत घोषण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका बर्तमान जिल्ला अध्यक्ष ललितकुमार राई(जीवन)ले बताउनुभयो ।

मृतकको शवलाई काठमाण्डौमै दाहसंस्कार गर्ने अध्यक्ष राईले जनाउनुभयो । मृतक श्रेष्ठको परिवार हाल काठमाण्डौंमै रहेको जनाईएको छ ।
श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको शपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश एक–शुन्य–पाँच–शुन्य–शुन्य–एक–प–अठ्साठी सट्तिस नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

रत्नपार्क जिरोप्वइन्टबाट बजारतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले ठक्कर दिंदा श्रेष्ठ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जनाउनुभएको थियो ।
प्रनाउ लम्सालका अनुसार श्रेष्ठको टाउको र छातीमा चोट देखिएको थियो । पछाडीबाट मोटरसाइकलले ठक्कर दिएपछि श्रेष्ठ त्यही ढलान सडकमा ढल्नुभएको स्थानीयवासी सुनाउँछन् । श्रेष्ठसँगै सोही मोटरसाइकलमा सवार लफ्याङका ४८ वर्षीया विष्णुकुमारी राई पनि घाईते हुनुभएको छ । दुबैजनालाई माटिकोरे खेलमैदानबाट हेलिकोप्टरमार्फत काठमाण्डौको लगिएको थियो । राईको मोटरसाईकल चालककी आमा रार्ईको सोही अस्पतालमा उपचार भईरहेको छ ।
मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।