विमानको बाटो



नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान गर्ने र पुग्ने गन्तव्य स्थल मात्र नभई हवाई मार्ग (इनरुट) को मौसम समेत सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । इनरुटको मौसम सफा नभएपनि उडानको अनुमति दिने गरिएकोमा अब त्यसो गरिन्न भन्ने भनाइ नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।

हालै भएको तारा एअरको विमान दुर्घटनाबाट पाठ सिकेर त्रुटि सच्याउने हिसावले गरिएको यस निर्णयको सराहना नै भएको छ । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने गन्तव्य र उडानको बाटोसमेतलाई जनाउने र यी सबैको रिपोर्ट संकलन गर्दागर्दै अधिक समय जाने भएका कारण यो नियम व्यावहारिक छैन भन्नेहरु पनि देखिएका छन् ।

यस नियमलाई भिएफआर (भिजुअल फ्लाइट रुल्स) भनिन्छ र सुरक्षाका दृष्टिले यसलाई आवश्यक पनि मानिन्छ । त्यस्तै, भिएफआर भन्नाले आँखाले हेरेर मार्ग प्रष्ट भएपछि विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । यो नियम भिएफआर विधिबाट उडान भर्ने विमान कम्पनी, विमानस्थलमा मात्रै लागु हुनेछ । आइएफआर सिस्टम जडान भएको विमान र विमानस्थललाई यो नियम लागु हुनेछैन भनिएको छ । तर त्यसका लागि पहिले विमानमा आइएफआर हुनुप-यो, विमानस्थलमा पनि यो जडान गरिनुप-यो र विमानचालक यो सिस्टम चलाउन दक्ष हुनुप-यो ।

त्यस अवस्थामा उनीहरुले इनरुट मौसम सफा नभएपनि उडान अनुमति पाउनेछन् । नत्र भने उनीहरु उड्ने स्थान, पुग्ने स्थान र जाने बाटोको पनि मौसम सफा भएको यकिन भएपछि मात्रै प्राधिकरणले उडान अनुमति दिनेछ । गत आइतबार तारा एयरको हवाईजहाज इनरुट मौसमको खराबीका कारण दुर्घटनाग्रस्त भएको बताइएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले कडा मेहनत गरेर विमान दुर्घटना भएको विकट स्थानबाट २२ जनाको लाश संकलन गर्न सघायो । यस दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याई पोष्टमार्टम गर्न र परिवारका सदस्यलाई जिम्मा लगाउन सम्भव भयो । दुर्घटनाग्रस्त तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा भेटिएको थियो ।

दुर्घटनाको खबर सुनेपछि शोकाकूल बनेका परिवारजनलाई छिटोभन्दा छिटो आफन्तको लाश जिम्मा लगाउनु सम्बन्धित निकायका जिम्मेवारी र कर्तव्य हुनआउँछ । अन्तिम संस्कार नगरी खानसम्म नहुने धार्मिक संस्कारका कारण उद्धारका गतिविधिहरु अत्यन्त महत्वपूर्ण हुन्छन् ।नेपालको भूबनोटमा आवागमनका लागि हवाइ सेवा प्राथमिकताको विषय बन्दैआएको छ । सडक सञ्जालले सबै ७७ जिल्लाका सदरमुकामसम्म पनि जोड्न नसकिरहेका बेला दुर्गम स्थानका गाउँ–बस्तीसम्म गाडीको पहुँच हुने सम्भावना रहेन ।

भएका सडक पनि हतारमा खनिएका र पहिरो तथा भेलबाढीको शिकार भइरहने अवस्थाका छन् । यस्तो यथार्थलाई चिर्नसक्ने विकल्प भनेको हवाइ उडान नै हो । तर, हतारमा उडान गर्नु कुनै पनि अर्थमा स्वीकार्य छैन । ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्नसकिन्न भन्ने वाणीलाई स्वीकार गर्दै ‘इनरुट’ नियम कडाइका साथ लागु हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्