शहीद स्मृति गोल्डकपमा सिमराको विजयी सुरुवात


हेटौंडा । 

चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा सिमराको नवजनजागृति क्लबले विजयी शुरुवात गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको वागमती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै सिमराले विजयी शुरुवात गरेको हो । नवजनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए । खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका कृपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । सर्लाहीले खेलमा केही राम्रा अवसर पाए पनि गोल निकाल्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ ।

प्रतियोगितामा सिमराका विवेक चौधरीले म्यान अफ दी म्याच घोषित हुँदै १० हजार प्राप्त गर्दा सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार चितवनको बीएफसी क्लब र काठमाडौंको चर्च ब्वाइज क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।मकवानपुर फुटबल संघको आयोजनामा स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता बिहीबार हेटौंडामा शुरु भएको हो ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामाको सभाध्यक्षता एवम् प्रतियोगिता संयोजक प्रताप बिष्टको संयोजकत्वमा भएको उद्घाटन समारोहमा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता थियो ।जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगितामा विभागीय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको वागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको आयोजकले बताएको छ ।

प्रतियोगिता विजेताले १५ लाख र उपविजेताले १० लाख रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो वर्षभन्दा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो वर्ष विजेताले १० लाख र उपविजेताले ५ लाख रुपियाँ प्राप्त गरेका थिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत् उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १ करोड १७ लाख खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।

अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।प्रतियोगितालाई मकवानपुरका १० वटै स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाले ५-५ लाख सहयोग गरेका छन् । २०६२–०६३ को जनआन्दोलनका शहीदको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक जिल्ला फुटबल संघ मकवानपुरले राष्ट्रिय फुटबल प्रतियोगिता गरेको थियो । उक्त पहिलो पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।