सिकारीबासमा बत्ती बल्ने

0
Shares

वीरगन्ज । पर्साको अति बिकट बस्ती ठोरी गाउँपालिका–३ शिकारीबासमा ६ महिनाभित्र बिजुली बल्ने भएको छ ।

नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र अन्तर्गत सौर्य मिनिग्रीट सिस्टम मार्फत शिकारीबासका बासिन्दाले आगामी ६ महीनामा बिजुली उपभोग गर्न पाउने ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्ष शम्भु खड्का, निर्माण कम्पनीका प्रतिनिधिलगायतको टोलीले शनिबार शिकारीबासमा पुगेर स्थानीयसँग भेटघाट गरी विद्युत् योजना निर्माण शुरू भएकाले निर्माण पक्षलाई आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।

वडाध्यक्ष खडकाले विद्युत् प्रणाली जडानका लागि स्थल र अन्य पक्षबारे स्थलगत अवलोकन गरिएको बताए । उनले सौर्य ऊर्जामार्फत निर्माण हुन लागेको उक्त मिनिग्रीट शिकारीबासको दुई स्थानमा राखिने बताएका छन् ।

पहिलो मिनीग्रिटबाट २० किलोवाट र दोस्रो मिनीग्रिटबाट तीन किलोवाट गरी २३ किलोवाट विद्युत् उत्पादन गरिने र उत्पादित बिजुली शिकारीबासका मानिसले उपभोग गर्ने बताए । सो योजना एक करोड ५९ लाख लागतमा निर्माण हुन लागेको र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ठोरी गाउँपालिकाको आर्थिक सहयोग रहेको बताइएको छ ।