काठमाडौं ।
बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधि सभामा सोमबार संकल्प प्रस्ताव दर्ता भएपछि यसका असर र परिणामका विषयमा बोल्दै कानुनविद् तथा सामाजिक अभियन्ताहरूले दुवैतिर जोखिम देखाएका छन् ।
मौजुदा कानुनमा उजुरीका लागि एक वर्षको हदम्याद भएका कारण अहिले चर्चामा रहेको १६ वर्षकी छँदा यौन दुव्र्यवहारमा परेकी सुन्दरी प्रतियोगिताकी सहभागीजस्ता पीडितलाई अन्याय भएको हेर्न सकिन्न, हदम्याद नै नराखेर विकृति फैलाउन सक्ने गलत अवसर पनि दिनुभएन, टिप्पणीकारहरूको भनाइ छ ।‘बालिकामाथि भएको यौन हिंसाका सम्बन्धमा उजुरीको हदम्याद खुकुलो बनाउन सकिन्छ, तर सबैखाले यौन हिंसाका अभियोगमा हदम्याद हटाइयो भने परिणाम गलत पनि हुनसक्छ’ वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भन्नुभयो– यो भावनामा बहकिएर तत्कालीन लोकप्रियताका लागि हतारमा बोल्ने विषय होइन, गहन सामाजिक विश्लेषण गरेर निष्कर्षमा पुग्नु आवश्यक छ ।
अवस्था हेरेर हदम्यादको निर्णय लिनुपर्ने वरिष्ठ अधिवक्ता अर्यालको सुझाव छ– महिलाहरू यौन हिंसाका शिकार भएको समाचार बारम्बार सुन्नुपर्छ, यो समाजका लागि कलंकको विषय हो, यसमा कानुनी प्रावधानले विकृति हटाउने प्रयास गर्नैपर्छ, साथसाथै भोलि यही समाजको अर्को आधा जनसंख्या पुरुष पीडित हुने अवस्था नआओस् भन्ने पक्षमा पनि हामी सचेत हुनैपर्छ । पहिला सहमतिमा सम्बन्ध बनाउने तर पछि कुनै कुरा नमिल्दा यौन दुव्र्यवहार भयो भनेर उजुरी गर्ने प्रवृत्तिले प्रोत्साहन पाउनुहुन्न ।अधिकारकर्मी तथा वरिष्ठ पत्रकार बविता बस्नेत भन्नुहुन्छ– ‘हदम्याद चाहिन्छ तर विभिन्न पक्षलाई हेरेर यसको निर्धारण गरिनुपर्छ ।
कुनै पनि आपराधिक कार्यमा कानुनी हदम्याद मुख्य कुरा हो । बलात्कारको विषयमा विभिन्न मुलुकमा फरक–फरक कानुनी हदम्याद देखिन्छ । यौनहिंसाको सवालमा हदम्याद नराखिनु भावनात्मक हिसाबले हेर्दा राम्रो कुरा हो । तर व्यावहारिक रूपमा भनें हदम्याद नराख्दा जहिले गरे पनि हुन्छ भन्ने ठानेर पीडितको उजुरी ढिलो पर्ने या तत्काल उजरी गर्न तदारुकता नहुने पनि हुनसक्छ’, बस्नेत भन्नुहुन्छ– ‘बलात्कारमा जति चाँडो उजुरी प-यो, त्यति धेरै प्रमाण जुटाउन सजिलो हुन्छ, जति ढिलो भयो प्रमाणित गर्न त्यति नै ढिलो हुन्छ । त्यसैले हदम्याद बढाउँदा यस्ता मुद्दामा चाँडै उजुरी दिनुपर्ने कुरा राख्न छुटाउनु हुँदैन । बलात्कार र यौन हिंसालाई छुट्याएर कानुनी हदम्याद तय हुनुपर्छ ।’
यस्तै, महिला अधिकारलगायतका सार्वजनिक सरोकारका विषयमा कानुनी लडाइँ लड्दै आएका अधिवक्ता तथा मानवअधिकारकर्मी राजु चापागाईं बलात्कारका घटनामा दक्षिण एसियाका चार देश भारत, माल्दिभ्स, पाकिस्तान र बंगलादेमा हदम्याद छैन, नेपाल पाँचौं मुलुक हुनसक्छ, हुनु पनि पर्छ भन्नुहुन्छ । ‘बलात्कारजस्ता गम्भीर प्रकृतिका अपराधमा प्रमाण छ भने जहिले पनि उजुरी दिन सकिन्छ’, चापागाईं भन्नुहुन्छ – ‘अपवाद जहाँ पनि हुनसक्छ, पूर्वाग्रह राखेर गलत आशयले कसैलाई बद्नाम गर्न यस्ता आरोप आउन सक्छन्, तर बृहत् सामाजिक हितका लागि प्रमाणका आधारमा अघि बढ्ने व्यवस्था मिलाउनुपर्छ ।’
चापागाईं अनुसन्धान बलियो बनाउनु आवश्यक देख्नुहुन्छ । प्रहरीमा उजुरी आउनासाथ कसैलाई बद्नाम गरिहाल्नु ठीक हुन्न, परिस्थितिजन्य प्रमाणलाई पनि हेरेर मुद्दा अघि बढाउने कार्य गरिनुपर्छ, – उहाँ भन्नुहुन्छ ।‘प्रमाण भएन मुद्दा चल्ने हो । आरोपितलाई आधारहीन आरोप लागेको छ भने लगाउनेले क्षतिपूर्ति पनि तिर्नुपर्छ’, उहाँ भन्नुहुन्छ – ‘अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै छ ।’सांसदहरू डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले संकल्प प्रस्ताव दर्ता गराउनुभएको हो । उहाँहरूले दर्ता गराएको संकल्प प्रस्तावमा बलात्कारको उजुरी दिने हदम्याद हटाउन माग गरिएको छ ।मुलुकी अपराध संहिताको दफा २२९ ले जबर्जस्ती करणीसम्बन्धी उजुरी दिने व्यवस्था गरेको छ । यसमा भनिएको छ, ‘कसुर भएको मितिले एक वर्षभित्र र यस परिच्छेदअन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।’
संकल्प प्रस्तावमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्यादसम्बन्धी ब्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाई उजुर गर्न आएमा त्यस्तो उजुरी दर्ता गरी अनुसन्धान गर्नसक्ने गरी कानुन संशोधन गर्नुपर्ने माग गरिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि मनोज पाण्डे नामका आयोजकले पेय पदार्थमा लट्ठ्याउने पदार्थ मिसाई खुवाएर बलात्कार गरेको बताएपछि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउनुपर्ने माग उठेको छ । पाण्डेलाई अहिले प्रहरीले पक्राउ गरेको छ ।
कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गर्दा १६ वर्षकी किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप छ । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।
प्रतिक्रिया