पूर्व डीआईजी कोइरालाका सम्बन्धमा सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला


काठमाडौं ।

सर्वोच्च अदालतले यसअघि गरिएको आफ्नो फैसलालाई उल्ट्याउँदै पत्नीको हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालालाई थप साढे ११ वर्ष कैद बस्नुपर्ने फैसला गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो । उहाँका अनुसार इजलासले तत्कालीन पुनरावेदन अदालत अर्थात् उच्च अदालतकै फैसला सदर गरेको छ ।

उच्च अदालतले त्यतिबेला कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तत्कालीन समयमा मुलुकी ऐनअनुसार जन्मकैदको फैसला २० वर्षको थियो । पूर्ण इजलासको बिहीबारको फैसलापछि साढे ८ वर्ष कैदमा बसेर कारागारबाट रिहा भएका कोइरालाले अब साढे ११ वर्ष कैद बस्नुपर्ने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाको कैद मिनाहा गरेको थियो । दुई वर्षअघि भएको उक्त फैसलाको तीव्र आलोचना भएको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले श्रीमती हत्या गर्ने कोइरालाको काममा ‘आवेश’ देखिएको र उनको घरमा बालबच्चाको संरक्षणको मानवीय पक्ष पनि जोडिएको भन्दै कैद मिनाहाको राय सुनाएको थियो ।