धुलिखेलले ग-यो जनमुखि निर्णय जेष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क एम्बुलेन्स सेवा

14
Shares

काभ्रे 

जनप्रतिनिधिहरुले कार्यभार सम्हाले लगत्तै बसेको पहिलो बैठकले जनमुखि निर्णय गरेका छन् । जिल्लाका १३ वटा पािलका मध्ये पाँचखाल बाहेक १२ वटा पालिकाका सबै जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसकेका छन् ।

पदभार ग्रहण लगत्तै बसेको पहिलो बैठकले नागरिकहरुलाई खुशी बनाउन र जनमुखी कार्य गर्ने सकारात्मक सन्देश दिने गरी निर्णय भएका छन् । धुलिखेल नगरपालिकाका जनप्रतिनिधिहरुले सोमबार सपथ सँगै पदभार ग्रहण गरेका छन् । नगर प्रमुख अशोक ब्याञ्जु र उपप्रमुुख निराजन जंगमले पदभार ग्रहण गरेसँगै बसेको पहिलो बैठकले नगरपालिका भित्र रहेका गरिव तथा विपन्न, गर्भवति, जेष्ठ नागरिक र अपाङता भएका ब्यक्तिहरुका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै नगरपालिकाले नक्सा पास प्रकृयालाई ई विल्डिङ परमिट सिस्टम प्रारम्भ गर्ने निर्णय गरेको छ । धुलिखेल नगरपालिकाको कार्यालय र सबै वडाहरुमा डिजिटल हस्ताक्षर श्रावण १ गते देखि लागु गर्ने निर्णय गरेको छ । दलित मैत्री शहर निर्माणका लागि छुवाछुत अन्त्य, आर्थिक, सामाजिक अवस्थालाई सुधार गर्दै गरिवी निवारण गर्ने र दलित मैत्री शहर निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो ।

पनौती नगरपालिकाका जनप्रतिनिधिहरुले पनि सोमबार नै पदभार ग्रहण गरेका छन् । बनेपामा भने आईतबार पदभार ग्रहण भएको छ । बनेपा र पनौतीमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सल्लाह नगरी एकतर्फि कार्यक्रम राखिएको भन्दै बहिस्कार गरेका थिए । लगत्तै भएको सपथ पछि दुबै पालिकामा बसेका बैठकहरुले जनमुखी कार्य गर्ने निर्णय गरेको छ । बनेपामा नगर प्रमुख शान्तिरत्न शाक्यले सरफाई र पूर्वाधार निर्माणमा नागरिक मैत्री हुने निर्णय गर्नु भएको छ भने पनौतीमा जेष्ठ नागरिकहरुलाई घर दैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । बेथान्चोकमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।