बुटवलमा उपमहानगरमा २५ वर्षपछि कांग्रेसको जित



बुटवल  । 

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको साख फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा ७ हजार ५ सय ३३ मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डले जित हासिल गर्नुभएको छ ।

उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्याल ७ हजार ८ सय २४ मत अन्तरले विजयी हुनुभएको छ । मेयरमा पाण्डेले ३० हजार १ सय ३० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९७ प्राप्त गर्नुभएको छ । उपमेयरमा विजेता अर्यालले २४ हजार ९ सय ४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका नेकपा समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९ सय ८० मत प्राप्त गर्नुभएको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक तेब्बरभन्दा बढी मत अन्तरले जित्नुभएको हो । पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गर्नुभयो । पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ ।बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसै गरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २५ वर्षपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बन्नुभएको थियो । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित हुनुभएको थियो ।

मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बन्नुभयो । त्यस बेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित हुनुभएको थियो । २०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रूपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी हुनुएको थियो । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित हुनुभएको थियो ।

पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगरसमेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित हुनुभएको थियो । ८ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी हुनुभएको थियो । उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो ।

तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ । पाण्डेको जितसँगै बुटवलबाट एमालेको दबदबा हटेको छ । बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्तिसमेत एमालेबाट खोसिने संकेत देखिएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित खेलराज पाण्डेयले बुटवल नगरपालिकालाई साझा चौतारीको रूपमा विकास गर्ने बताउनुभएको छ । उहाँले आफूलाई बुटवलको मेयरमा निर्वाचित गराएकोमा बुटवलका मतदाताप्रति आधार व्यक्त गर्दै जनताको साथ र भरोसाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्