गण्डकी प्रदेशकी एक्ली दलित उपप्रमुख उमा गोतामे



तनहुँ  । 

महिलाहरूले हरेक क्षेत्रमा प्रवेश गर्दा कोटा बाहेकका अन्य ठाउँ पाउन मुस्किल हुन्छ । दलित महिला, आदिवासी जनजाति महिलाहरूले कोटाबाहेक अन्य स्थानमा राजनीति होस् वा चुनावमा होमिन मुस्किल नै मानिन्छ । भानु नगरपालिका–६ की उमा गोतामेलाई भने अवसरले पछ्याउँदै उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

दलित महिला सदस्यमा दोहोरिन चाहनुभएकी गोतामेलाई नेपाली कांग्रेसले उपप्रमुख पदको टिकट दिएको थियो । स्थानीय तह निर्वाचन २०७४मा ६१५ मत प्राप्त दलित महिला सदस्य बन्नुभएकी थियो । गतको निर्वाचनमा जस्तै गरी पालिका चुनाव २०६९मा गोतामेले सोही अनुसार पार्टीमा दाबी गर्नुभएको थियो । तर, मनोनयन दर्ता गर्ने दिन उहाँलाई पार्टीले उपप्रमुखमा टिकट दिएको थियो ।

कांग्रेसका भानु नगरका नेताहरूले अन्य दलसँग तालमेलका लागि छलफल अवस्थामा भागबण्डा मिलेको थिएन । नेकपा एकीकृत समाजवादी र माओवादीसँग थप छलफल गरी तालमेल गर्ने, नगर प्रमुख आफूले लिने र उपप्रमुखको उम्मेदवारी फिर्ता लिने तयारीका साथ गोतामेले उम्मेदवार बनाइएको थियो ।

नेपाली कांग्रेसबाट उपप्रमुखमा दाबी गर्दै आएका जिल्ला र नगरस्तरकै नेतृहरूले उम्मेदवारी फिर्ता गर्ने गरी उपप्रमुखमा मनोनयन दर्ता गर्न नचाहेपछि गोतामेले उम्मेदवार बन्ने मौका पाउनुभएको हो । पार्टीले अन्य पार्टीसँग हुने भनिएको गठबन्धन नभएपछि पाएको अवसरले गोतामेलाई उपप्रमुख बन्ने मौका जुरेको छ ।गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दै उपप्रमुख निर्वाचित हुनुभएको छ । एमालेको सहयोगमा उपप्रमुखको उम्मेदवार बन्नुभएका गोविन्दराज जोशी समूहका केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत मात्र पाउनुभएको थियो । नेकपा माओवादी केन्द्रकी ओमकुमारी पौडेलले एक हजार २३८ र नेकपा एकीकृत समाजवादीका श्रीराम पौडेलले नौ सय ३१ मत पाउनुभएको थियो ।

गोतामे दलित महिला सदस्यमा दोहोरिन खोज्नुभएको थियो । उहाँले अब आफूले दलित तथा पिछडिएको वर्गको हितमा काम गर्ने बताउनुभएको छ । वडा सदस्य हुँदा गरिएको दलित पिछडिएका र विकासका कार्य गर्न लागिपर्ने उहाँ बताउनुहुन्छ । ‘नगरवासीले काम गर्ने अवसर दिनुभएको छ, उहाँहरूको विश्वासलाई प्राथमिकतामा राखेर काम गर्नेछु,’ गोतामेले भन्नुभयो ।नेपाली कांग्रेसका भानु नगर समिति सभापति रामकुमार श्रेष्ठले भागबण्डा नमिल्दा तालमेल नभएको र एक्लै चुनावमा गएको अवस्थामा प्रमुख र उपप्रमुख कांग्रेसकै बनाउन सकिएको बताउनुभयो । ‘हामी उपप्रमुखको उम्मेदवारी फिर्ता गर्न तयार थियौं, तर, भागबण्डामा उहाँहरूले धेरै खोज्नुभयो,’ श्रेष्ठले भन्नुभयो, ‘त्यसैले हामी एक्लै चुनावमा गयौँ, सफलता पनि भयौं ।’

जिल्ला समन्वय समिति तनहुँका सदस्य अर्जुन बहादुर अधिकारीले गोतामे गण्डकी प्रदेशकै एक्ली दलित महिला उपप्रमुख भएको दाबी गर्नुभयो । ‘उहाँबाहेक गण्डकी प्रदेशमा नै कसैको दलित महिला उपाध्यक्षमा उम्मेदवारी परेको छैन, यहाँ परेको हो र सफलता पनि पाएका छौं,’ अधिकारीले भन्नुभयो ।नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम पौडेलले पनि आफूले उपप्रमुख पाउने आशामा मनोनयन दर्ता गरेको तर कांग्रेसले पछि तालमेल नै गर्न नचाहेको बताउनुभयो । माओवादीले पनि कांग्रेससँग बार्गेनिङकै लागि सिताराम अधिकारीलाई नगर प्रमुखमा र ओमकुमारी पौडेललाई उपप्रमुखमा मनोनयन दर्ता गर्न लगाएको थियो ।

एकीकृत समाजवादीले पनि उपप्रमुख पाउने अपेक्षासहित श्रीराम पौडेलको मनोनयन दर्ता गरेको थियो । तर, मनोनयन दर्तापछि पनि दलहरूबीच भागबण्डा मिल्न सकेको थिएन । कांग्रेसले एक्लै चुनावमा जाने निर्णय ग-यो र गोतामेले उम्मेदवारी फिर्ता लिनु परेन ।माओवादी र एकीकृत समाजवादीकाले पनि फिर्ता लिएनन् । एक्लै चुनावमा गएपछि नतिजा आउँदा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जित्न सफल भयो । फिर्ता गर्ने गरी उपप्रमुखमा उम्मेदवारी दिएकी गोतामेले झण्डै दोब्बर बढी मतले चुनाव जित्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्