घरको सौर्य ऊर्जालाई राष्ट्रिय प्रशारण लाईनमा जोड्ने कहिले ?



काठमाडौं । सरकारले ‘हरेक घर : ऊर्जा घर’ को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले स्वेतपत्र जारी गरी ‘हरेक घर : उर्जा घर’को अवधारणा ल्याएको हो ।

उक्त अवधारणामा उर्जा दक्षता कार्यक्रम र घरको छानामा राखिने रुफटप सौर्य उर्जालाई ‘नेट मिटरिङ तथा नेट पेमेन्ट’को आधारमा राष्ट्रिय प्रशारण लाईनमा जोड्ने कार्यक्रमलाई अभियानको रुपमा अघि बढाइने उल्लेख छ । तर अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन ।

पाइलट प्रोजेक्टका रुपमा केही संस्था र एकाध नीजि घरको सौर्य उर्जालाई राष्ट्रिय प्रशारण लाईनमा जोडिएको भएता पनि यसलाई गति दिइएको छैन ।

सोलार रुफटप नेटमिटरिंग भनिने यस विधिलाई व्यावहारिक रुपमा सफल र सुलभ तुल्याउन ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको संलग्नतामा प्राविधिक मार्गदर्शन र कार्यविधिहरू तयार भैसकेको भएता पनि यसको नीतिगत र व्यावहारिक पक्षमा देखिएका जटिलताले सरोकारवाला निकाय प्राधिकरणले आफ्नो घरमा सोलार प्यानल राखेर बढी भएको विद्युत प्राधिकरणलाई बिक्री गर्न चाहने उपभोक्तालाई सेवा दिन सकिरहेको छैन ।

यसै सम्बन्धमा सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स (सीन)ले बिहीबार उर्जा क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो । छलफलमा सहभागी अधिकांशले रुफटप सौर्य उर्जालाई ‘नेट मिटरिङ तथा नेट पेमेन्ट’को आधारमा राष्ट्रिय प्रशारण लाईनमा जोड्न सकिए काठमाडौंका घरहरूलाई सानासाना जलविद्युत केन्द्रमा रुपान्तर गर्न सकिने धारणा राखेका थिए ।

सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्ले सरकारको उक्त अवधारणाअनुसार काठमाडौंको कम्तिमा पनि १ लाख घरको छानामा १ किलोवाट क्षमताको सोलार प्यानल राख्न सकिए १०० मेगावाट विद्युत सजिलै उत्पादन हुने भएकोले यो अभियानलाई अघि बढाउन जरुरी भएको बताए । उनले अधिकतम् लाभ लिनका लागि ४–५ लाख घरका छानाहरू उपयोगमा ल्याउन सके उर्जा समस्या धेरै हदसम्म समाधान हुने बताए ।

छलफलमा सहभागी प्राडा जगन्नाथ श्रेष्ठले काठमाडौं उपत्यकाका ६ लाख घरमध्ये एक लाख घरका छानाबाट कम्तिमा १०० मेगावाट विद्युत उत्पादन गर्न सकिने र सोको लागि तयार गरिएका प्रावधानहरू परिमार्जित गरी सहज तुल्याउन सरकारले अनुदान तथा सहुलियत ब्याज दरमा ऋणसमेत उपलव्ध गराउन सके सोलार रुफटप नेटमिटरिंग विधिबाट ऊर्जा क्षेत्रले प्रशस्त लाभ लिन सक्ने बताए ।

पूर्व सचिव अनुपकुमार उपाध्याय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा. नारायण अधिकारी, नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) का अध्यक्ष प्रकाश विक्रम बस्नेत लगायतका विज्ञहरूले सीनले अन्य सरोकारवाला संस्थाहरूसँग पनि सहकार्य गरी सोलार रुफटप नेटमिटरिंग प्रवद्र्धन अभियान चाल्नुपर्ने र पाइलट प्रोग्राम सञ्चालन गर्न पनि पहल गर्नुपर्ने धारणा अघि सारेका थिए ।

हाल निर्माण सम्पन्न भएका विभिन्न जलविद्युत आयोजनाहरूको उत्पादन क्षमता २ हजार १ सय ६० मेगावाट रहेको छ । जडित क्षमताअनुसार २ हजार १ सय ६० मेगावाट विद्युत उत्पादन हुने भएपनि सुख्खा मौसममा नदीमा पानीको बहाव निकै कम हुने भएकोले करिब ३० प्रतिशत मात्र विद्युत उत्पादन हुन्छ । यसैकारण सरकारले अन्य श्रोतको पनि व्यवस्था गर्न सोलार वा अन्य प्रविधिबाट उत्पादन हुने विद्युतलाई पनि राष्ट्रिय प्रसारणमा जोड्न सकिने गरी प्रवद्र्धन गरिने नीति लिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रविधिको गुणस्तर राम्रो हुँदै आएको र लागत कम हुँदै आएको वर्तमान परिप्रेक्ष्यमा सामान्य उपभोक्ताले आफै विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमार्फत बढी भएको विद्युत बिक्री गर्ने र आफूलाई आवश्यक विद्युत प्राधिकरणबाट प्राप्त गर्न सोलार रुफटप नेटमिटिरिंग विधिलाई अगाडि बढाउन सके व्यक्तिलाई मात्र होइन, राष्ट्रलाई समेत फाइदा पुग्ने बिज्ञहरूको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्