विभागले केन्द्रमै फाइल मगायो, अब बयान लिने

भगवती लेमिनेट्स कर छली प्रकरण


काठमाडौं  । 

कर छली प्रकरणमा मुछिएको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई चुनौती दिन थालेपछि राजस्व अनुसन्धान विभाग गम्भीर बनेको छ ।

विभिन्न प्रकारको दबाब र भनसुनमा कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोजेको सो कम्पनीका सञ्चालकमाथि अब राजस्व अनुसन्धान विभाग गम्भीर बन्दै केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान गर्ने भएको छ । हालसम्म राजस्व कार्यालय इटहरीले अनुसन्धान गर्दै आइरहेको भगवती लेमिनेट्सका सम्पूर्ण फाइल राजस्व अनुसन्धान विभागले काठमाडौंमा तानेको छ ।

भगवती लेमिनेट्स प्रालिका सञ्चालकहरूले राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई विभिन्न प्रभावमा पारेको भनी व्यापक गुनासो र असन्तुष्टि विभागमा आएपछि विभागले ती फाइल केन्द्रमै तानेको हो । भगवती लेमिनेट्सका सञ्चालकले शक्तिकेन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रियालाई नै कमजोर बनाउने प्रयास गर्दै आएका थिए । सो प्रालिका सात सञ्चालकले उनीहरूको बैंक खाता र बैंक स्टेटमेन्ट माग गर्दा अटेर गरी दिन आलटाल गरेका थिए । आलटाल गरेकै कारण विभागले सबै फाइल केन्द्रमै तानेर थप अनुसन्धान गर्ने तयारी गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

‘अब केन्द्रीयस्तरबाटै भगवती लेमिनेट्सले गरेको राजस्व छलीबारे नयाँ किसिमले अनुसन्धान तथा छानबिन हुनेछ’ –नाम नबताउने सर्तमा राजस्व अनुसन्धान विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललाई एकपछि अर्को गर्दै बोलाउने तयारी भएको छ ।

विगत तीन महिनादेखि विभिन्न सञ्चारमाध्यममा कर छलीसम्बन्धी समाचारहरू प्रमाणसहित प्रकाशित हुँदै आएपछि नेपाली जनताले तिरेको भ्याट सम्बन्धित निकायकै कमजोरीका कारण सरकारको ढुकुटीमा पुग्न नसकेको भन्दै राजस्व विभागले अनुसन्धानलाई प्रभावकारी बनाउन केन्द्रले नै बयान लिने तत्परता देखाएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयले फाइल मगाएर अनुसन्धान गर्न र दोषी ठहरिएमा वा भेटिएमा कुनै पनि सञ्चालक र डिलरलाई नछोड्ने बताएको छ ।

तीन वर्षको अवधिमा कच्चा बिलमार्फत ६५ करोड बढीको कारोबार गरी झन्डै २० करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको थियो । सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।