स्वतन्त्र अगाडि, विद्रोही विजयी

प्रारम्भमै दललाई चेतावनी

0
Shares

 काठमाडौं  । 

नेपाली कांग्रेससँग विद्रोह गर्दै खडा भएका उम्मेदवारले विजयी हासिल गरेको र स्वतन्त्र उम्मेदवारले अग्रता हासिल गरेको अवस्थाले राजनीतिक दललाई चेतावनी भएको छ ।

नमोबुद्धका प्रेम लामा, डडेल्धुराका नरेश भण्डारी, ललितपुर महानगरपालिकाका निर्मल तण्डुकारको विजयले नेपाली कांग्रेसलाई कडा चेतावनी भएको छ । लामा र तण्डुकार बागी उम्मेदवार हुनुहुन्छ भने भण्डारीलाई बागी पक्षको समर्थन देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा नेपाली कांग्रेसका उम्मेदवारलाई भण्डारीले हराइदिनुभएको छ । जिल्लाका पूर्वसभापति कर्ण मल्ललाई कांग्रेसले कारबाही गरेपछि कांग्रेस बीपीलाई मल्ल पक्षले समर्थन गरेको थियो । बीपीबाट मल्लले नै भण्डारीलाई उठाएको र एमालेले पनि सघाएका कारण उहाँको जित भएको देखिन्छ ।

राजनीतिक विचारधाराका दृष्टिले परस्पर विरोधी नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका कम्युनिस्ट पार्टीसँगको गठबन्धनका कारण मतदाता बिचलित बने । दलीय वैचारिकताका आधारमा मतदान गर्ने सूत्र नै हरायो । परिणामस्वरूप बागी उम्मेदवार बढे र मतदाताले पनि बागीलाई आफ्नो विचार निकट पाए । चितवन नगरपालिकामा नेकाले सघाएकी मेयरकी उम्मेदवार रेणु दाहालले ६ सय १२ मत पाउँदा बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ सय मत पाउनु यसकै प्रमाण थियो ।

राजनीतिक दलका हिसाबले नेकपा एमाले ठूलो दल हुने संकेत त प्रारम्भिक मतपरिणामबाट देखिन्छ तर राप्रपा नेपाललाई केपी शर्मा ओलीले ‘तपाईंहरूको सूर्य चिन्ह पाऊँ न भन्न आए, दिएर पठाइदिएँ’ भनेजस्तो हल्का जवाफका कारण उसले अझ ठूलो दल हुने अवसर गुमाउने संकेत देखिन्छ ।३४ हजार ८ सय ६६ जनप्रतिनिधि छानिनेमा सबै राजनीतिक दलले आफ्ना उम्मेदवारले जितून् भन्ने चाहना राख्नु स्वाभाविकै हो । तर, सोचेका सबै ठाउँमा नजित्दैमा ‘धाँधली भयो’ भनेर विज्ञप्ति निकाल्नु जिम्मेवार दलको पहिचान हुन सक्तैन ।

ठूला दलले यस प्रकारको भाषा प्रयोग गरेपछि कार्यकर्ता उठेर शान्तिपूर्ण मतगणनामा भौतिक आक्रमण गरे जिम्मेवार को हुन्छ ? नेकपा एमालेले आइतबार विज्ञप्ति निकाल्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाका क्रममा योजनाबद्ध धाँधली गरेको आरोप लगाउनुभएको छ ।

निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले) को विपक्षमा परिचालित भएको आरोप एमालेले लगाएको छ । एमाले केन्द्रीय कार्यालयले र सम्बन्धित उम्मेदवारहरूले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका निवेदनअनुसार पुनः मतदान र मतगणना गराउन एमालेले आग्रह पनि गरेको छ ।काठमाडौं महानगरपालिका र चितवन महानगरपालिकाको मतगणनामाथि यतिखेर सबैको ध्यान केन्द्रित देखिन्छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आइतबार ४ हजार मत पाउँदा नेपाली कांग्रेसका सृजना सिंह र नेकपा एमालेका केशव स्थापितले ३ हजार नघाएका छैनन् । ६ वटा वडाको गणना भएको सबै मतमा बालेन साह अन्य उम्मेदवारभन्दा निकै मतान्तरले अघि देखिनुहुन्छ ।

काठमाडौं एक नम्बर वडामा बालेनले ६ सय २५ मत प्राप्त गर्दा स्थापितलाई २ सय ९० र सिंहलाई ३ सय ७७ प्राप्त भएको थियो । यस्तै वडा नम्बर २ मा बालेनलाई ६ सय ७३ मत जाँदा स्थापितलाई ४ सय ३२ र सिंहलाई २ सय ६४ मत मिलेको थियो । अन्य वडामा पनि यही अवस्था देखिन्छ ।दलहरूले विरोधी विचारका शक्तिसँग मिलेर भए पनि स्थानीय सरकार हात पार्ने नीति लिएकोमा जनता असन्तुष्ट देखिएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी शर्मा ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएजस्तै उहाँकै दल पनि आत्तिएर नेकासँग मिलेको होइन भन्न सकिन्न ।

‘केपी ओली कमजोर भएकैले कमल थापा, परिवार दल र कांग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गर्न पुगे’ –पुनको टिप्पणी छ ।‘पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ । कांग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एक जना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’, पुनले भन्नुभएको छ– ‘ओली क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक÷एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पु-याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।’

ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाउँदै नेता पुनले मुलुकलाई प्रतिगमनमा लैजान दुई पटकसम्म संसद् विघटन गरेकाले ओली र उनको दल एमालेलाई जनताले दण्डित गर्ने पुनको दाबीचाहिँ पूरा हुने संकेत छैन । यी पंक्ति लेख्दासम्म एमालेले १४ स्थानमा जितिसकेको र २ सय बढी स्थानमा अग्रता हासिल गरेको छ । जबकि पुनको पार्टीलाई ९ स्थान मात्र जुरेको छ भने अग्रता १ सय १५ स्थानमा मात्र देखिन्छ । त्यस्तै, नेका ११ स्थानमा विजयी बनेर २ सय ७७ स्थानमा अग्रताका साथ उभिएको छ ।दल र त्यसका नेताहरूको दाबी र टिप्पणी गलत मात्र सावित भएका छैनन्, उपहासका विषय पनि बनेका छन् । बागी र स्वतन्त्र उम्मेदवारबाट पराजित हुने हैसियतका दलीय उम्मेदवार उठाएर ठूला गफ गर्नु दलीय व्यवस्थाकै विरोध हुनेछ ।

उहाँले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्यात्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिनुभएको छ । ‘स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले’ रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भन्नुभयो– ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेन्डाहरूलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रूपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’

नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा गर्ने र वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको उहाँको भनाइ छ ।