मतदानस्थलमा अशक्तलाई पहिलो प्राथमिकता

0
Shares

म्याग्दी  । 

हिमाली जिल्ला म्याग्दीको सबै मतदानस्थलमा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई मतदान गर्नका लागि पहिलो प्राथमिकता दिइने भएको छ ।

जिल्लामा कायम भएका ७४ वटा मतदानस्थल र १ सय १४ वटा मतदान केन्द्रमा अपांग, ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी र शारीरिक रूपमा अशक्त मतदाताहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद घिमिरेले बताउनुभयो । उहाँले सबै मतदानस्थल र केन्द्रमा यस्तो व्यवस्था गर्न मतदान अधिकृतलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी समेत रहनुभएका निर्वाचन कार्यालय प्रमुख घिमिरेले लामो समयसम्म लाइनमा उभिएर मतदान गर्न नसक्ने शारीरिक रूपमा अतिअशक्त नागरिक तथा मतदातालाई प्राथमिकताका साथ मतदानको आवश्यक व्यवस्था मिलाउन दिर्नेशन जारी गरिएको बताउनुभयो । अशक्त नागरिक लामो समय लाइनमा बसेर पालो पर्खंदा अन्य समस्या देखिएर मतदान गर्नबाट वञ्चित नहुन् भनेर प्राथमिकतामा राखिएको हो । मतदान गर्नका लागि महिला र पुरुषको छुट्टाछुट्टै लाइन तथा आउने–जाने बाटोको व्यवस्था पनि मिलाइएको बेनी सामुदायिक मावि मतदानस्थलका मतदान अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

यसैबीच म्याग्दीमा स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागि मतदानस्थल र केन्द्रमा पुगेको कर्मचारी तथा सुरक्षाकर्मीको टोलीले मतदाता परिचयपत्र वितरण, मतदानको लागि आवश्यक स्थल (बुथ) निर्माण, सर्वदलीय तथा सर्वपक्षीय बैठक र मतदाता शिक्षा सञ्चालनलगायत निर्वाचनलाई आवश्यक पर्ने सबै तयारी पूरा गरेको जनाएको छ । यसका साथै मतदानस्थलमा त्रिपाल टाँग्ने, घेराबार लगाउने र मतगणनास्थलमा तारजाली तथा सीसीक्यामेरासमेत जडान गरिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

निर्वाचनको लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छापलगायत झण्डै १ सय प्रकारका सामग्रीसहित कर्मचारीहरुको टोली मतदानको तयारी अवस्थामा बसेका छन् । म्याग्दीमा स्थानीय तह निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारी र शिक्षक गरी कुल ५ सय ६१ जना तथा सुरक्षाका लागि १ हजार ४ सय ४७ जनाको जनशक्ति परिचालन गरिएको छ । सुरक्षातर्फ ६ सय १७ म्यादी प्रहरी, ३ सय ८० नेपाल प्रहरी, २ सय ३४ नेपाली सेना र २ सय १६ जना सशस्त्र प्रहरी रहेका छन् ।

एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनको लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । तीमध्ये पुरुष ४१ हजार ४ सय १४, महिला ४३ हजार ९ सय ६० र अन्यतर्फ एक जना मतदाता रहेका छन् । छवटा पालिकामा जिल्लाभर कुल २ सय ३७ पदका लागि ७ सय १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।