लमजुङमा ७० वर्षमाथिका ११ उम्मेदवार

0
Shares

लमजुङ

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा उम्मेदवार दिएकामध्ये ११ जना ७० वर्षमाथिका रहेका छन् । जिल्लाका स्थानीय तहहरुमा विभिन्न पदमा उम्मेदवारी दिएका १ हजार ४५ जनामध्ये ११ जना ७० वर्षमाथिको रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सिर्जना मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारी दिएकामध्ये सबैभन्दा बढी उमेर दूधपोखरी गाउँपालिका–२, का वडाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका यमप्रसाद न्यौपानेको रहेको छ । अध्यक्ष पदमा उम्मेदारी दिएका न्यौपानेको उमेर ८२ वर्ष उल्लेख छ ।
सोबाहेक जिल्लाका विभिन्न वडाहरुमा उम्मेदवारी दिएका अन्य १० जनाको उमेर ७० वर्षमाथि रहेको छ । ७० वर्षमाथिका उम्मेदवार रहने पालिकाहरुमध्ये मध्यनेपालमा सबैभन्दा धेरै रहेका छन् । मध्यनेपालमा मात्रै ७० वर्ष माथिका चार जना उम्मेदवार रहेका छन् ।

त्यसै गरी, बेंसीशहरमा दुई जना रहेका छन् भने क्होलासोँथार, सुन्दरबजार, दोर्दी र राईनासमा एक-एक जना रहेका छन् । मस्र्याङ्दी गाउँपालिकामा भने ७० वर्ष उमेरमाथिका उम्मेदारको संख्या शून्य रहेको छ ।निर्वाचन कार्यालयका सूचन अधिकारी जीवाखर शर्माका अनुसार जिल्लामा ६० वर्षदेखि ७० वर्ष उमेर समूहका उम्मेदवारहरुको संख्या ८२ रहेको छ । सोही उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै बेंसीशहर र राईनास नगरपालिकामा रहेका छन् । बेंसीशहर र राईनासमा मात्रै १७–१७ जना उम्मेदवार ६० देखि ७० वर्ष उमेर समूहका रहेका छन् ।

बेंसीशहर र राईनासमा बाहेक सुन्दरबजारमा १३ जना, मस्र्याङ्दीमा १२ जना, मध्यनेपालमा १० जना, दोर्दीमा नौ जना, क्होलासोँथारमा चार जना र दूधपोखरीमा दुई जना उम्मेदवार सोही उमेर समूहका रहेका छन् ।निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये जिल्लामा ९८ जना ३० वर्षभन्दा कम उमेर समूहका रहेका छन् ।

जिल्लामा सबैभन्दा कम उमेरको उम्मेदवारमध्ये क्होलासोँथार गाउँपालिका वडा नम्बर २ मा दलित महिला सदस्य पदमा उम्मेदवार बनेकी सुस्मिता सुनारको रहेको छ । कार्यालयको तथ्याङ्कअनुसार नेपाली कांग्रेसबाट दलित महिला सदस्य पदमा उम्मेदवार बनेकी सुनारको उमेर २१ वर्ष मात्रै रहेको छ ।

जिल्लामा ३० वर्षभन्दा कम उमेरका उम्मेदवारमध्ये सबैभन्दा धेरै मध्यनेपालमै रहेका छन् । मध्यनेपालका मात्रै १९ जना उम्मेदार ३० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३० वर्षभन्दा कम उमेरका उम्मेदवार रहेका स्थानीय तहमध्ये सुन्दरबजारमा १८ जना, मस्र्याङ्दीमा १४ जना, दोर्दीमा ११ जना, बेंसीशहर, राईनास र क्होलासोँथारमा १०–१० जना तथा दूधपोखरीमा ६ जना मात्रै रहेका छन् ।

जिल्लाका स्थानीय तहअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका १ हजार १ सय ४५ जनामध्ये १ सय जनाको उम्मेदारी फिर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा नगरपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाको वडाध्यक्षसहित पाँच जना निर्वाचित हुने प्रावधान छ । जिल्लाभर ३ सय ९१ पदका लागि १ हजार ४५ जनाको उम्मेदारी रहेको छ ।