जेठ ७ मा सरकारले नीति तथा कार्यक्रम ल्याउने


काठमाडौं । 

सरकारले आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संसद्मा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेसँगै सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने कार्ययोजना बनाएको हो ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १४ गते बजेट ल्याउनुपर्ने भएकाले सरकारले नीति तथा कार्यक्रम जेठ पहिलो साता ल्याउन लागेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधबार नेपाल समाचारपत्रलाई सरकारको नीति तथा कार्यक्रममाथि जेठ ८ देखि ११ गतेसम्म छलफल हुने बताउनुभयो ।

उहाँका अुनसार बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य सुरक्षाका मापदण्डलगायत भौतिक तयारी पूरा गरेको छ । प्रवक्ता पाण्डेका अनुसार जेठ ३ गते प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने र जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमाथि छलफल हुने कार्यक्रम तय भएको छ ।

त्यसै गरी अर्थमन्त्री शर्माले जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्ने र संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी संसद् सचिवालयले गरेको छ ।