ग्रामीणका नागरिकको माग : विद्युत् र सञ्चार सुविधा

0
Shares

डोटी ।

डोटीका ग्रामीण क्षेत्रमा रहेका नागरिकले विद्युत् र सञ्चार विस्तार गर्ने राजनैतिक दलका उम्मेदवारलाई भोट दिने बताएका छन् । स्थानीय तहको निर्वाचनका लागि गाउँमा भोट माग्न आउने सबै उम्मेदवारलाई यही उही माग राखेको नागरिकले बताएका हुन् ।

घरदैलो कार्यक्रममा आएका उम्मेदवारहरूलाई विद्युत् र सञ्चार सुविधा दिनेलाई भोट दिन्छौं भनेको बडिकेदार गाउँपालिका घागलका स्थानीयवासी श्याम सापकोटाले बताउनुभयो । ‘हाम्रा अधिकांश गाउँ वर्षौंदेखि विद्युत् र सञ्चारविहीन भएका छन् । जसले विद्युत् र सञ्चार विस्तार गर्छु भनेर प्रतिबद्धता गर्छ उसैलाई हामी भोट दिन्छौं ।’ –उहाँले भन्नुभयो डोटीका दजनौं गाउँ अहिले पनि विद्युत् सेवा तथा सञ्चार सुविधा नभएका कारण सम्पर्कविहीन अवस्था जस्तै बनेका छन् । गाउँमा कुनै पनि घटना भए तत्काल जानकारी दिनका लागि यहाँका नागरिकले कम्तीमा पनि एक घण्टाको पैदल हिँडेर सञ्चार सम्पर्क भएका ठाउँमा गएर सम्पर्क गर्नुपर्ने बाध्यता कायमै रहेकाले यहाँका गाउँघरमा विद्युत् र सञ्चारको अतिआवश्यक रहेको जोरायल गाउँपालिका–६ का अर्का स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताउनुभयो ।

‘गाउँमा विद्यालय छन्, सडक पुगेका छन् तर विद्युत् र सञ्चार छैन, राति कुनै घटना भए कसरी खबर गर्ने भन्ने समस्या हुन्छ ।’ –उहाँ भन्नुहुन्छ स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनैतिक दलका नेताहरु आफ्नो चुवानी अभियानलाई गाउँ–गाउँमा गएका बेला डोटीका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले भने विद्युत् र सञ्चार दिने लिखित सम्झौता गर्नेलाई मात्रै भोट दिने बताउँदै आएको उम्मेदवारहरु पनि बताउँछन् ।
जोरायल गाउँपालिकाका अध्यक्षका उम्मेदवार बनेका किरण मल्लले गाउँमा भोट माग्न जाँदा विद्युत् र सञ्चार चाहियो भन्ने नागरिकको माग रहेको बताउनुभयो । ‘गाउँमा नागरिकलाई विद्युत् र सञ्चारको निकै आवश्यकता रहेको पाइयो ।’ – उहाँले भन्नुभयो । उम्मेदवारहरु स्थानीय नागरिकका घरदेखि खेतबारीमा भोट माग्नका लागि रातदिन खटिएका भए पनि यहाँका भोटरको माग भने एक सूत्रीय विद्युत् र सञ्चार विस्तारकै रहेको अर्का नेता दीपककुमार विष्ट बताउनुहुन्छ ।

उम्मेदवारहरूले निर्वाचनअघि गरेका वाचाहरु पूरा नगर्ने परिपाटिका कारण पनि नागरिकमा चिन्ता थपिएको अर्का स्थानीय चक्रबहादुर भाटको कथन छ ।