सरकारी कार्यालयका सेवा प्रवाह प्रभावित


लमजुङ  । 

आसन्न स्थानीय तह निर्वाचनका लागि निजामती कर्मचारी खटिएपछि लमजुङका प्रायः सबै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी सोमबारदेखि नै निर्वाचनका लागि खटाइएपछि करिव पाँच दिनका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो ।

निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा ८ सय ९५ कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि संघ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयहरुका प्रमुखहरुलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो ।

जिल्लास्थित कार्यालयका प्रमुखसहित खरिदारसरहका कर्मचारीहरुलाई निर्वाचनमा खटाउने कार्यविधिअनुसार खटाइएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको उहाँको कथन छ । अहिलेको अवस्थामा निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले कुनै पनि कार्यालयमा अत्यावश्यकभन्दा बाहेकका सेवा प्रवाह गर्न नसकिने वैद्य बताउनुहुन्छ ।

निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृतसरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेबारी दिइएको छ भने सुब्बासरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ ।

जिल्लाका ५ सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा सहायकस्तरको कर्मचारी दुई-दुई जना खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा १ सय ६७ मतदान केन्द्रमा ५ सयभन्दा बढी मतदाता रहेका छन् भने १५ वटा मतदान केन्द्रमा ५ सयभन्दा कम मतदाता रहेका छन् ।

सोबाहेक प्रत्येक मतदान केन्द्रमा सहयोगीका रूपमा एक÷एक जना कर्मचारी पनि खटाइएको छ । जिल्लाका प्रत्येक मतदान केन्द्रमा कम्तीमा चार जनादेखि पाँच जनासम्म कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताउनुभयो । सोबाहेक मतदान केन्द्रहरुमा एकदेखि तीन जनासम्म स्वयंसेवक खटाइनेछ । उहाँअनुसार जिल्लाका सबै मतदान केन्द्रको आवश्यकताअनुसार जिल्लाभर ५ सय ४६ स्वयंसेवक खटाइने भएको छ ।