प्रहरीद्वारा लागू औषध खेती नष्ट


म्याग्दी  । 

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ सिसनेरी खबाङ भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती मंगलबार नष्ट गरेको छ ।
खबाङमा लागूऔषध अफिम खेती लगाइएको भन्ने गोप्य सूचनाको आधारमा फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

खबाङमा झण्डै पाँच रोपनी क्षेत्रफलको जग्गामा लगाइएको अफिम खेती इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएर गएको म्यादी प्रहरीसहितको टोलीले नष्ट गरेको म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । चुनावी सुरक्षालाई ध्यानमा राखेर गस्ती गर्ने क्रममा लागूऔषध अफिम खेती गरेको भन्ने जानकारी पाएपछि नष्ट गरिएको उहाँको भनाइ छ ।

उक्त अफिम खेती व्यक्तिको निजी जग्गामा लगाइएको भए पनि कसले र किन लगाएको भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । प्रहरीको आफ्नै नियमित कार्यक्रम तथा आसन्न पालिका चुनावको सुरक्षालाई मध्यनजर गरी लागूऔषध नष्ट गरिएको उहाँले जनाउनुभयो ।

यसअघि पनि मालिका–५ देवीस्थानको गाईखर्क भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती प्रहरीले नष्ट गरेको थियो । देवीस्थानस्थित गाईखर्कको सार्वजनिक स्थानमा झन्डै पाँच रोपनी क्षेत्रफलको जग्गामा लगाइएको लागूऔषध अफिमलाई नष्ट गरिएको थियो । यहाँ पनि सार्वजनिक स्थानमा कसले अफिमको खेती गरेको भन्ने विषयचाहीँ खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले पालिका चुनावको समयमा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न पनि सक्रियता बढाएको छ । यसै गरी, जिल्लाको अन्य ठाउँमा पनि हुन सक्ने लागूऔषधको खेती तथा अवैध कारोबारलाई नियन्त्रण गर्न आवश्यक खोजीकार्य र अनुसन्धान भइरहेको ढकाल बताउनुहुन्छ ।