छब्बीस वर्षदेखि खानेपानीको आयोजना अलपत्र

उम्मेदवारहरूको वाचामै सीमित छ पानी

0
Shares

बुटवल । 

बुटवलको खानेपानीको समस्याका बारेमा २०५२ सालयताका सबैजसो निर्वाचनमा ठूला–साना दलका नेताहरुले मुख्य चुनावी नारा बनाउँदै आएका भए पनि पानीको समस्या ज्युँकात्युँ छ । बुटवलवासीले वर्षौंदेखि हिउँदमा धारामा पानी नआउने वर्षा लागेपछि धमिलो पानी खानुपर्ने समस्या झेल्दै आएका छन् ।

गर्मी लागेसँगै बुटवलको दीपनगर, सुख्खानगर, बटौली, बेलबासलगायतका क्षेत्रमा धारामा पानी निकै कम आउँछ । वर्षा लागेपछि त्यही धारामा धमिलो पानी आउँछ । पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवल शहरमा निर्वाचनका बेला आकाशका जुनतारा झारिदिन्छु जस्तै गर्ने जनप्रतिनिधिहरु जितेर गएपछि आफ्नै सेवा–सुविधामा लिप्त हुँदा आम नागरिकले शुद्ध पानी खान पाएका छैनन् । पानीको आशैआशमा जीवन बित्न थालेको गुनासो छ बुटवल सुख्खानगरकी पुनम रजालीको । गर्मी याममा ट्यांकरको पानी किनेर गुजारा चलाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । बुटवलबासीले यस्तो समस्या भोग्न थालेको दुई दशकभन्दा बढी भयो ।

यो अवधिमा बुटवल क्षेत्रबाट खानेपानीकै नारा उछालेर विष्णु पौडेल तीनपटक चुनाव जिते, मन्त्री पनि बने । २०६४ कै चुनावमा पौडेलले झुम्सा खानेपानी आयोजनामार्फत बुटवलबासीलाई प्रयाप्त खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । सांसद÷मन्त्री बनेपछि उहाँले पटक–पटक अनुगमन निरीक्षणका नाममा त कहिले शिलान्यासका नाममा आयोजनास्थलमा घुमफिर पनि गर्नुभयो । तर, आयोजना कार्यान्वयनका लागि ठोस पहल गरेको भने अहिलेसम्म नदेखिएको स्थानीय बताउँछन् ।

२०७४ को निर्वाचनमा यही नारा लिएर चुनावी मैदानमा उत्रिएका शिव सुवेदीले बुटवलको मेयरमा जित हात पार्नुभयो । जनतासँग भोट माग्न जाँदा उहाँले २ वर्षभित्रै झुम्साको पानी बुटवल ल्याउने वाचा गर्नुनुभएको थियो । तर, पाँच वर्ष बित्दा न बुटवलबासीको मतले पटक–पटक सांसद र मन्त्री बनेका पौडेलले समस्या समाधानमा चासो देखाए न मेयरमा जितेका सुवेदीले । २६ वर्षदेखि अलपत्र झुम्सा खानेपानी आयोजना अहिले पनि सुसुप्त अवस्थामै छ, धिमा गतीमा ।

खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ । वितरण पुग÷नपुग २ करोड ४० लाख लिटर मात्रै छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । अहिले १६ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब १ हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ । तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनिको पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउन थालेको हो । जसका कारण बुटवलमा पानीको अभाव वर्षेनी चुलिँदै गएको छ ।

बुटवलको त्यही खानेपानी समस्या समाधान गर्ने उद्देश्यले २६ वर्षअघि सिस्ने खानेपानी आयोजना शुरु भएको थियो । पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०५२-०५३ मा आयोजना शुरु भएको थियो ।आयोजना शुरु भएको एक दशकपछि सिस्नेको पानीले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै मूल फेरियो । सिस्नेको सट्टा हालको तिनाउ गाउँपालिका–३ र ४ मा पर्ने झुम्सा खोलाको फिरफिरेघाटबाट दैनिक ३ करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०६४-०६५ मा झुम्सा खानेपानी आयोजनामा परिमार्जित गरियो ।

यो आयोजनामा करोडौं रकम खर्च भइसकेको छ । तर, हालसम्म कुल आयोजनाको काम जम्मा ४ दशमलव १६ प्रतिशत मात्रै भएको छ । यो आयोजनामा एक दशकअघि नै मुहानमा बनाइएको बाँध ६ वर्षअघि बाढीले बगाइदियो । बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा ६ वर्षअघिको वर्षे बाढीले घोरबन्दीघाट नजिकै बनाइएको बाँध नै भत्किएको थियो । खानेपानी संस्थानकै कर्मचारीका अनुसार इन्जिनियरिङ सर्भे बिनै बाढी र पहिरोको जोखिमस्थलमै निर्माण गरिएको बाँध वर्षाले भत्काइदिएको हो ।

लामो समय काम नहुँदा बिछ्याइएका पाइप फुटेर कामै नलााग्ने भएपछि ती फालिएका छन् । १५ करोड बढीका संरचना त त्यसै खेर गएको आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन् । बाँध निर्माणमा लापरबाही सँगै पाइप खरिदमा समेत २५ करोडको भ्रष्टाचार भएको भन्दै २०७५ को वैशाखमा अख्तियारमा उजुरी परेको थियो । मुद्दा परेसँगै २५ करोडका २० इन्च र १० इन्चका पाइप झन्डै ६ वर्षदेखि शिवनगर जंगलमा अलपत्र छ ।

पछिल्लोपटक २०७७ जेठमा ड्याम निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका उपप्रमुख मन्दीप श्रेष्ठले ११ करोड लागतमा ड्याम निर्माणको काम सकिएको बताउनुभएको छ । ड्यामदेखि बुटवलको रामफेदीसम्म पाइपलाइनका लागि २०७७ जेठ १ गते अर्को ठेक्का लागेको थियो । १४ करोडमा लागेको ठेक्काको करिब ६० प्रतिशत मात्रै काम भएको छ ।जसअन्तर्गत ६ किलोमटिर पाइप बिछ्याइको छ । बाँकी ५ किलोमिटर पाइपलाइनको काम रोकिएको छ । झुम्सा–दोभान खण्डमा मुख्य सडक पर्ने भएकाले सडकले पाइप बिछ्याउन अनुमति नदिँदा काम रोकिएको आयोजना प्रमुख मोहनदत्त भट्ट बताउनुहुन्छ ।

उहाँका अनुसार बिछ्याइएका पाइप २० र १० इन्चका छन् । पाइप क्रस गर्नुपर्ने स्थानमा बनाउनुपर्ने तीनवटा ट्रसब्रिजमध्ये अहिलेसम्म एउटाको मात्रै काम शुरु भएको छ । यसपालि पनि तोकिएको समयमा आयोजना सम्पन्न नहुने पक्का भएपछि अहिले ठेक्काको म्याद थपको तयारी भइरहेको छ ।झुम्साको पानी बुटवलको रामफेदीमा ल्याएर ओभरहेड ट्यांकीमा खन्याइनेछ । तिनाउवारिको बुटवलमा ३ वटा, तिनाउपारिको बुटवलमा ३ वटा गरी ६ वटा ओभरहेड ट्यांकी बनाइनेछ । बुटवलमा जग्गा पाउन नसकेकाले शुद्धीकरण प्लान्ट झुम्साक्षेत्रमै निर्माण गरिने आयोजनाले जनाएको छ ।

ओभरहेड ट्यांकी, शुद्धीकरण प्लान्ट, पानी वितरण प्लान्ट, रिजर्बवायर, पानी वितरण पाइपलाइन जस्ता कामका लागि जग्गा सुनिश्चित गरेपछि बल्ल ठेक्का लगाइनेछ । यी सबै काम निर्बाध रूपमा अगाडि बढ्यो भने पनि आयोजना सम्पन्न हुन कम्तीमा ५-६ बर्ष लाग्ने आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन् । आयोजना सम्पन्न गर्न कुल ६ अर्ब ३५ करोड बजेट लाग्ने भनिए पनि हालसम्म जम्मा २५-२६ करोडको काम भएको आयोजनाका उपप्रमुख श्रेष्ठले बताउनुभयो ।

यही अपुरो आयोजनालाई नारा बनाएर बुटवलबाट पटक–पटक निर्वाचन जितेका नेताहरु वर्षौंदेखि आयोजना अलपत्र पारिँदा र करोडौंको चलखेल हुँदा पनि मुकदर्शक बन्ने गरेका छन् । बुटवलका पूर्वमेयर पुनाराम पोखरेल पच्चीसौं वर्षदेखि नगरवासीले कुरेको आयोजनालाई मेलम्ची जस्तै बनाउने चलखेल यस क्षेत्रबाटै जितेर पटक–पटक मन्त्री र सांंसद भएकाहरुबाटै हुने गरेको बताउनुहुन्छ ।

वैशाख ३० को स्थानीय निर्वाचनको प्रचारका लागि बुटवलमा खटिएका प्रतिनिधिसभा सांसद विष्णु पौडेलले फेरि यसपालि पनि झुम्सा खानेपानी आयोजनालाई नै अगाडि सारेर खानेपानी समस्या समाधान गर्ने वाचा गर्दै नगरवासीलाई झुक्याइरहेको पोखरेलको दाबी छ ।यसपालिको चुनावमा पनि बुटवलको खानेपानी समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धतासहित नगरबासीसँग नेताहरूले मत मागेका छन् ।