कर्मचारीको आचरणमा कमजोरी भेटिए क्षम्य हुँदैन


स्याङ्जा । 

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वसन्तराज पौडेलले स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको आचरणमा कमी–कमजोरी रहेमा क्षम्य नहुने बताउनुभएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले सोमबार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दिएको प्रशिक्षणमा उहाँले सो बताउनुभएको हो ।

पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने-गराउने वातावरण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सुझाव दिनुभएको थियो । चुस्त र स्फूर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो इमानदारिता र जिम्मेवारी वहन गर्न उहाँले मतदानस्थलमा खटिने कर्मचारीलाई निर्देशन दिनुभएको थियो । यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्ष भई आ–आफ्नो भूमिकामा रहनसमेत उहाँले आग्रह गर्नुभयो ।

‘निर्वाचन जस्तो पवित्र कार्यलाई सम्पन्न गर्न दिइएको काम, कर्तव्य र अधिकारका बन्धनमा बाँधिएर काम गर्नुहोला’, उहाँले भन्नुभयो– ‘हाम्रा व्यवहार, आचरणमा कतै कमी–कमजोरी भएमा त्यो क्षम्य हुने छैन । तपार्इंंहरु ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंको साथमा हामी छौं ।’ पौडेलले मतदानका बेला झै–झमेला आइपर्न सक्ने हुँदा अत्यन्तै संयमतापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले पनि सहभागीलाई कत्ति पनि नआत्तिइकन आ–आफ्ना जिम्मेवारी पूरा गर्न सुझाव दिनुभएको थियो । ‘कामका सिलसिलामा कहींकतै समस्या आइपरेमा तपाई–हामी सामूहिकरूपमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ । दिइएको जिम्मेवारी पुरा गर्नुहोस् ।’ –उहाँले भन्नुभयो ।

सहभागीलाई निर्वाचन शुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिइएको निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो । कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, विनोद पौडेल, विश्वप्रसाद रेग्मी, गुरुप्रसाद मरासिनीले प्रशिक्षण दिनुभएको थियो । मतदानको दिन आउनै लाग्दा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो ।

स्याङ्जाका ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत खटाइएको आयोगले जनाएको छ । जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदानस्थल तोकिएको छ । ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदान अधिकृत खटाइएका छन् । जिल्लाभर २ लाख ४० हजार ५ सय ३५ मतदाता छन् । तीमध्ये १ लाख २३ हजार ८ सय ६८ महिला छन् भने १ लाख १६ हजार ६ सय ६६ पुरुष र १ अन्य छन् ।