विकटका मतदान केन्द्रमा खटिए कर्मचारी

0
Shares

हेटौंडा   । 

मकवानपुर जिल्लाको निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार कर्मचारीको निकै भीड देखिन्थ्यो । दिनभरजसो कर्मचारीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तिपत्र बुझ्ने र निर्वाचन कार्यालयमा मतपेटिका र मतपत्रलगायत सामग्री बुझ्न व्यस्त रहे ।

जिल्लाका ३ सय ६५ मतदान केन्द्रमा खटिनुपर्ने भएकाले पनि कर्मचारीलाई मतपेटिका र मतपत्रलगायत सामग्री बुझ्न भ्याईनभ्याई थियो । दुईवटै कार्यालयमा कर्मचारीको दिनभरजसो भीड रह्यो । निर्वाचनको कार्यतालिकाअनुसार मंगलबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्छ । कर्मचारीहरुले त्यहाँ पुगेर कार्यतालिकाअनुसार काम गर्नुपर्ने हुन्छ । विकट गाउँमा पुग्ने कर्मचारीहरु सोमबार नै मतपत्र र पेटिका बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । धेरै कर्मचारी मंगलबार आफ्ना मतदान केन्द्रमा खटिने तयारी गरेका छन् । शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दै छन् । निर्वाचन आयोगका अनुसार २९ बैशाखसम्म मकवानपुरमा १८ वर्ष पूरा भएका १ लाख ४९ हजार ९ सय ५४ पुरुष, १ लाख ४४ हजार ९ सय ५९ महिला र अन्यमा ६ जना मतदाता छन् ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये सबभन्दा बढी मतदाता हेटौंडा उपमहानगरका छन् भने सबभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा छन् । हेटौंडामा १ लाख ४ हजार ४ सय ७३ जना र इन्द्रसरोवरमा १२ हजार ४ सय ७१ मतदाता छन् ।जिल्लाको थाहा नगरपालिकामा ३२ हजार ३ सय ७, बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३, वागमती गाउँपालिकामा २२ हजार ४०, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८, मनहरी गाउँपालिकामा २६ हजार ७ सय २१, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८, राक्सिराङमा १५ हजार ८ सय ३२ र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ८६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचनका लागि जिल्लामा मतदानस्थल १ सय ६५ र मतदान केन्द्र ३ सय ५६ रहेको वागमती प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । उहाँले मतदानस्थल र केन्द्रका लागि निर्वाचन सामग्री पठाउन शुरु गरिएको र मंगलबारसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृत आफ्नो क्षेत्रमा पुग्ने बताउनुभयो ।

३ हजार २ सय सुरक्षाकर्मी

मकवानपुरमा स्थानीय तह चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालित हुने भएका छन् । जिल्लाका १ सय ६५ मतदानस्थलका लागि र वरपरसमेत गरी बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।शान्तिपूर्वक चुनाव गराउन नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । स्थानीय तह चुनावका लागि मकवानपुर प्रशासनले नेपाली सेना ५ सय, सशस्त्र प्रहरी ४ सय, नेपाल प्रहरी ९ सय र म्यादी प्रहरी १ हजार ४ सय जना परिचालन गरेको पाण्डेले जानकारी दिनुभयो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा मतदानस्थल वरपर नेपाली सेना परिचालन गरिने उहाँले बताउनुभयो ।

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायत काम गर्ने छन् । हाल निर्वाचन आचारसंहिता उल्लंघन भए-नभएको अनुगमनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी मकवानपुरका ३ सय ६५ वटै मतदानस्थल वरपरको सुरक्षाका लागि खटाइसकिएको छ । अब नेपाल प्रहरी र म्यादी प्रहरी भने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरुसँग मतपत्रलगायत सामग्री लिएर पठाउने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले गरेको छ ।

मकवानपुरका दश स्थानीय तहमध्ये भौगोलिक विकटता, सडक सञ्जाल नपुगेका स्थान, बेला–बेलामा झै–झगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोबास भएकालगायत आधारमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको छ । अति संवेदनशील मानिएका स्थानमा निर्वाचनविरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइएको छ ।

मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) रहेको स्थानीय प्रशासनले बताएको छ । जिल्लाभित्र स्थानीय तह निर्वाचन भयरहीत, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ का आधारमा मकवानपुरको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको छ ।
विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका मतदानस्थल तथा मतदान केन्द्रको निरीक्षण प्रमुख जिल्ला अधिकारी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट भइसकेको छ । स्थानीय तह निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र इजाजतप्राप्त हातहतियार स्थानीयले प्रहरी एकाइंमा बुझाएका छन् ।
मकवानपुरमा नेपाल प्रहरी खटिएका कारागार, जिल्ला प्रशासन कार्यालयजस्ता ठाउँमा प्रहरीलाई नेपाली सेनाले निर्वाचनभर पालो दिएर उक्त जनशक्ति निर्वाचनमा खटाइएको छ ।