निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन


काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् । सुरक्षामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन अर्यालले निर्देशन दिएका हुन् ।

त्यस्तै बन्दोबस्त एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेसागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरी तस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालित भई सम्पादन गरेका कार्यहरूको सूक्ष्म अनुगमन गर्न प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको महानिरीक्षक अर्यालले बताए ।

त्यस्तै निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेवारी निर्वाहमा क्रियाशील रहन पनि अर्यालले निर्देशन दिएका छन् । उनले लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरूलाई कारबाही गरिने समेत बताए ।

निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्वाचन सुरक्षा, आचारसंहिता र पदीय आचरणमा रही अनुशासन, इमानदारिता र लगनशील भई कार्यक्षेत्रमा परिचालन हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरूले आफूले गरेका गतिविधिहरूलाई सामाजिक सञ्जालमा सेयर तथा पोस्ट गर्न नहुने बताए ।

कमान्डर तहका अधिकृतहरूलाई उनले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सचिवालयले जनाएको छ । अर्यालले भने, ‘जस्तोसुकै चुनौतीभित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नुपर्छ ।’

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई शान्ति र भयरहित वातावरणमा सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रूपमा जिम्मेवारी निर्वाहमा क्रियाशील गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरूको नेतृत्वमा हरेक प्रदेशमा टोली परिचालन गरेको छ ।

जसअनुसार कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू कमलप्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत नं। १ प्रदेश, उद्धवबहादुर न्यौपाने मधेस प्रदेश, राजेन्द्र खड्का सुदूरपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, त्यसै गरी सशस्त्र प्रहरी उपरीक्षकहरू टोपबहादुर खनाल बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्षित सुरक्षाका लागि खटिएका छन् ।