कुकुरका लागि बन्ध्याकरण शिविर

0
Shares

स्याङ्जा ।

कुकुरको नाम सुन्नेवित्तिकै धेरैलाई फोहरी र गह्नाउने कुकुरको याद आउने गर्दछ भने केहीले भने कुकुरले घरको रख्वाल गर्ने भएकाले मायाको भाव देखाउने गरेको पाइन्छ । कुकुर र मानिसको सम्बन्ध हजारौं वर्ष अघिदेखिको हो भन्ने इतिहासविद् पनि बताउँछन् ।

यसकै कारण तिहारमा कुकरलाई पूजा गर्ने परम्परा पनि रहीआएको छ ।देशभर चुनावको रौनक चलिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिकामा भने कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका छाडा कुकुरको संख्या बढ्दै जान थालेपछि न्यूनीकरणका लागि बन्ध्याकरण गर्न थालेको नगर प्रमुख भूपराज अधिकारीले बताउनुभयो । छाडा तथा घरमै पालिएका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंको प्राविधिक सहयोग एवं गल्याङ नगरपालिकाको व्यवस्थापनमा सञ्चालन गरिएको शिविरमा १ सय ११ वटा कुकुरलाई बन्ध्याकरण तथा रेविजविरुद्वको खोप दिइएको थियो ।घरमा पालेका कुकुरको सुरक्षा एवं सडकमा रहेका कुकुरको न्यूनीकरणका लागि अभियानका रूपमा एकदिने शिविरको आयोजना गरिएको केन्द्रीय रिफरल पशु चिकित्सालय, काठमाडौंका पशु चिकित्सक डाक्टर टंक प्रसाईंले जानकारी दिनुभयो ।

‘छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी हो–हल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको हो ।’ उहाँले भन्नुभयो ।बजार क्षेत्रमा कुकुर देखिए खबर गरिदिन विज्ञ केन्द्रले नगरवासीलाई आग्रहसमेत गरेको छ । छाडा कुकुरको बन्ध्याकरण गरिन थालेपछि बजारवासीले खुसी व्यक्त गरेका छन् ।

गल्याङ नगरपालिकामा कुकुर पाल्नेहरुको संख्या बढिरहेको र सडकमा रहेका कुकुरहरुले सवारी दुर्घटनासमेत गराउन सक्ने भएकाले यस्तो शिविर सञ्चालन गर्नुपरेको गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । ती कुकुरलाई रेबिज, छालाको रोगविरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको उहाँले जनाउनुभयो ।

मानवलाई असर गर्ने रेविज रोग नियन्त्रणका लागि गल्याङमा यसअघि पनि निःशुल्क खोपको व्यवस्था गर्ने गरिएकोमा बन्ध्याकरण शिविर भने पहिलोपटक सञ्चालन गरिएको हो । शिविर सञ्चालनका लागि काठमाडौंंबाट तीन जना सर्जन विशेषज्ञसहितको टोली खटिएको छ । मुख्यतः सडकमा रहने बेवारिसे कुकुरका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको अवस्थामा बन्ध्याकरण शिबिरले बजार क्षेत्रमा हुने त्यस्ता कुकुरको संख्या घट्न विश्वास लिइएको छ ।