मुगुका स्थानीय तहमा तीनथरी गठबन्धन

0
Shares

मुगु । 

मुगुको सोरू र मुगुम कार्मारोङ गाउँपालिकामा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ । जिल्लाकै एकमात्र नगरपालिका छायाँनाथ रारामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

सोरूमा समाजवादी र माओवादीको साथ पाएको कांग्रेस यहाँ एक्लै छ । खत्याड गाउँपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका छन् । यहाँ एकीकृत समाजवादी एक्लै छ । नेकपा एमाले भने चारवटै पालिकामा एक्लै छ । यसअघि मुगुमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा रहँदा माओवादी तेस्रो शक्ति बनेको थियो ।

पार्टी विभाजनसँगै एमालेका एक जना प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र दुई जना गाउँपालिका उपाध्यक्ष एकीकृत समाजवादीमा गएका छन् । त्यसैले एमालेको शक्ति क्षय भएको छ भने एकीकृत समाजवादी अर्को शक्तिका रूपमा देखिने सम्भावना छ । चारवटा पालिकामा भएका तीन थरी गठबन्धनले पनि त्यस्तै संकेत गरेको छ ।

सोरूमा एकीकृत समाजवादी

सोरु गाउँपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धर्मबहादुर शाही अध्यक्ष र नेपाली कांग्रेसका केशरबहादुर शाही उपाध्यक्ष उम्मेदवार छन् । धर्मबहादुर २०७४ मा नेकपा एमालेबाट अध्यक्षमा उठेका थिए । तर, नेपाली कांग्रेसका लोकबहादुर शाहीसँग ३४ मतको अन्तरले पराजित भए । जबकि यहाँ उपाध्यक्षमा एमालेकै राज्यलक्ष्मी मल्ल निर्वाचित भएकी थिइन् ।

अध्यक्ष उठेका धर्मबहादुर समाजवादीका जिल्ला अध्यक्ष हुन् । उपाध्यक्ष मल्ल पनि एमालेमा छिन् । त्यसैले २०७४ मा आफूले जितेको भए पनि कांग्रेसले यहाँ एकीकृत समाजवादीका धर्मबहादुरलाई अध्यक्ष छाडेको छ । ११ वडा रहेको यस गाउँपालिकामा नेपाली कांग्रेसले उपप्रमुख सहित ५ वटा वडाध्यक्ष पाएको छ । माओवादीले ३ वडा र समाजवादीले गाउँपालिका अध्यक्षसहित ३ वडा भागमा लिएको छ ।

मेयरमा वडाध्यक्षहरूको भीडन्त

छायाँनाथ रारा नगरपालिकामा नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमाले र स्वतन्त्र गरी ५ जना मेयरका दाबेदार छन् । तीमध्ये कांग्रेस उम्मेदवार विष्णुकुमार भाम वडा नं. ४ का र एमालेका डम्बरबहादुर रावल वडा नं. ५ का निवर्तमान वडाध्यक्ष हुन् । नेपाली कांग्रेस मुगुका प्रवक्ता प्रकाशकुमार शाही नगरमा आफूहरु बलियो रहेकाले एक्लै चुनाव लडेको बताउँछन् ।

उनी एमाले फुटेको र एकीकृत समाजवादीका कार्यकर्ता बाटैमा रहेकाले आफूहरुलाई फाइदा पुग्ने बताउँछन् । २०७४ को चुनावमा माओवादीसँग गठबन्धन गर्दै कांग्रेसले यहाँ मेयर जितेको थियो ।एमाले जिल्ला कमिटी सचिव डबल रोकाय ७४ मा गठबन्धन हुँदा आफूहरु झीनो मतले मेयर हारेका र उपमेयर जितेको भन्दै अहिले संगठन सुधारिएकाले ढुक्क रहेको बताउँछन् ।कांग्रेसले मेयरसहित ७ वटा वडामा वडाध्यक्ष जितेको थियो, एमालेले उपमेयरसहित ५ वडा र माओवादीले २ वडामा जितेको थियो । खत्याड गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित ४ वडा जितेको नेकपा एमालेलाई यो पटकका पुरानै सिट जोगाउनुपर्ने दबाव छ ।

कारण २०७४ मा दोस्रोमा रहेको माओवादी र तेस्रोमा रहेको कांग्रेसले योपटक चुनावी गठबन्धन गरी साझा उम्मेदवार तय गरेका छन् । एमालेबाट फुटेको एकीकृत समाजवादीले अध्यक्ष उपाध्यक्षसहित सबै वडामा आफ्नै उम्मेदवार उठाएको छ । एमालेका पूर्वजिल्ला उपाध्यक्षसमेत भएका अम्मराज शाही नेकपा एकीकृत समाजवादी अध्यक्षमा उम्मेदवार छन् । दुई दलको गठबन्धनबाट अध्यक्षमा माओवादीका शाही र उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाय मैदानमा छन् । रोकाया ०७४ को चुनावमा ७ मतले मात्रै पराजय भएकी थिइन् ।

एमालेले लालबहादुर मल्ललाई अध्यक्ष र कविता गिरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । मल्ल २ का निवर्तमान वडाध्यक्ष हुन् । २०७४ मा नेकपा एमालेले प्रमुख, उपप्रमुख सहित ४ वडाध्यक्षमा जितेको थियो ।भने कांग्रेस र माओवादीले ३–३ वटा वडामा अध्यक्ष जितेका थिए ।

मुगुम कार्मारोङ गाउँपालिकाको अध्यक्षमा दुई उम्मेदवार चुनावी मैदानमा छन् र उनीहरु दुवै २०७४ का प्रतिस्पर्धी हुन् । कांग्रेसका छिरिङ क्याप्ने लामा र एमालेका सोनाम छिरिङ लामा । २०७४ को चुनाव १ सय ४४ मतले जितेका निवर्तमान अध्यक्ष छिरिङ क्याप्ने लामाले यसपटक माओवादी र एकीकृत समाजवादीको साथ पाएका छन् । २०७४ मा अध्यक्षसहित चार वडाध्यक्षमा नेपाली कांग्रसले र उपाध्यक्षसहित ५ वडाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो ।