थाहालाई काठमाडौंको भगिनी शहर बनाइने


हेटौंडा । 

स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले उत्तर मकवानपुरको थाहा नगरपालिकालाई काठमाडौंको भगिनी शहरका रूपमा विकास गर्न चित्लाङ–थानकोट सुरुङमार्ग निर्माण गर्न डीपीआर तयार गरी आवश्यक पहल गर्ने प्रतिवद्धतापत्र जनाएको छ ।

‘सुशासन, विकास र आर्थिक समृद्धि हाम्रो रहर–कृषि, पर्यटन र पूर्वाधारसहितको सुन्दर थाहा नगर’ नारा दिइएको एमालेको प्रतिवद्धतापत्रमा उक्त बुँदा समेटिएको हो ।

८२ बुँदा समावेश गरिएको प्रतिवद्धतापत्रमा यातायात, पदमार्ग तथा भौतिक पूर्वाधार, खानेपानी व्यवस्थापन, शिक्षा, युवा रोजगार तथा खेलकुद, फोहोरमैला व्यवस्थापन, जनस्वास्थ्य, सामाजिक सुरक्षा, जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा शहरी सुरक्षा, सूचना तथा सञ्चार, सम्पदा संरक्षण तथा पर्यटन विकास, कृषि, पशुसेवा तथा बजार व्यवस्थापनलागयत मुख्य योजना तथा कार्यक्रम समावेश गरिएका छन् ।

यातायात, पदमार्ग तथा भौतिक पूर्वाधारअन्तर्गत चित्लाङ–चन्द्रागिरि–थानकोट सडक (गणेशमानसिंह मार्ग) स्तरोन्नतिका लागि नियमित योजना सञ्चालन गर्न पहल, नगरका प्रत्येक टोललाई सडक सञ्जालमा जोड्दै निर्माण सम्पन्न भइसकेका सडकको स्तरोन्नति, त्रिभुवन राजपथ स्तरोन्नतिका लागि आवश्यक पहल गर्नेलगायत कुरा उल्लेख छ ।खानेपानी व्यवस्थापनअन्तर्गत ‘एक घर एक धारा–नगरको अभिभारा’ नारा दिएर सबै घर–परिवारलाई खानेपानीको पहुँचमा पु-याउने योजना अघि सारिएको छ ।

शिक्षाअन्तर्गत थाहाका ५ र १२ नम्बर वडामा मावि तहसम्मको सुविधासम्पन्न भवनसहित विद्यालय स्थापना, कक्षा–१२ सम्म निःशुल्क, थाहा नगरमा कम्तीमा एक विद्यालयलाई पूर्ण प्राविधिक विद्यालय बनाउने, विद्यालयमा कार्यरत निजी स्रोत शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्तासहित सरकारीसरह पारिश्रमिक व्यवस्था गर्ने उल्लेख छ ।

युवा रोजगार तथा खेलकुदअन्तर्गत प्रत्येक वडाका बेरोजगार युवाका लागि रोजगार कार्यक्रम सञ्चालन, ‘एक वडा–एक खेलकुद मैदान’ निर्माण गर्ने योजना उल्लेख छ । फोहोरमैला व्यवस्थापनतर्फ ढल निकासको उचित व्यवस्थापन र हाल रहेका सार्वजनिक शौचालयलाई व्यवस्थित गर्ने र नभएका बजारहरुमा नयाँ शौचालय निर्माण, घर–घरमै फोहोर व्यवस्थापन गर्नेलगायत कुरा उल्लेख छ ।

कृषि कार्यक्रमतर्फ कम्तीमा ‘एक घर–एक टनेल’ निर्माण कार्यलाई अनिवार्य कार्यक्रमका रुपमा लागू गरी कम्तीमा बीउ उत्पादनमा जोड दिइने उल्लेख छ । पर्यटनतर्फ राज्यको पर्यटकीय सूचीमा कायम गराउँदै उचित प्रचार–प्रसार गर्ने, दामनमा रहेका सार्वजनिक तथा सरकारी जग्गालाई भाडामा उपलब्ध गराएर ठूला होटल तथा रिसोर्ट निर्माणमा प्राथमिकता दिइने उल्लेख छ । सामाजिक सुरक्षातर्फ ८० वर्षमाथिका वृद्धलाई मासिक १ हजार रुपियाँ भत्ता घर–घरमै पुगेर वितरण गर्नेलगायतका कुरा उल्लेख छन् ।

स्वास्थ्यअन्तर्गत थाहा नगरका प्रत्येक परिवारलाई स्वास्थ्य बीमा अनुदानमा जोड्ने योजना उल्लेख छ । सबै गर्भवतीलाई स्वास्थ्य केन्द्रमै सुत्केरी गराउने, एम्बुलेन्स भाडाबापत ५ हजार रुपियाँसम्म उपलब्ध गराउनेलगायत योजना समावेश छन् ।