घरदैलोको क्रममा माओवादीका ७ उम्मेदवार बिरामी


सर्लाही । 

सर्लाहीको हरिवन नगरपालिकामा स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलोमा गएका माओवादीका ७ उम्मेदवार स्थानीयवासीले दिएको मिठाइ खाएपछि बिरामी भएका छन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार माओवादीका उम्मेदवारहरू आइतबार दिउँसो हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा गएका थिए । हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी र वडा नं. ११ का उम्मेदवार शेख इस्तेखारसहितको टोलीलाई केही स्थानीयले मिठाइ तथा चिसो पेय पदार्थले स्वागत गरे । मेयर उम्मेदवार बुढाथोकीले भने स्वास्थ्यको कारण देखाउँदै मिठाइ नखाई हिड्नु भएको थियो ।

घरदैलोमा सहभागी माओवादीका नगर कमिटी सचिव गौरी महतोका अनुसार एक स्थानीयले दिएको मिठाइ खाएको पाँच मिनेटपछि वडाध्यक्षका उम्मेदवार शेख इस्तेखार बेहोस भएर ढल्नुभएको थियो । मिठाइ खुवाउने ती स्थानीय एमाले समर्थक भएको उहाँको दाबी छ । इस्तेखारसँगै अन्य उम्मेदवारहरू पनि छटपटाउन थालेपछि सबैलाई हरिवनकै स्वाभिमान अस्पतालमा लगिएको थियो । बिरामी भएका ७ जनामध्ये ५ जना प्राथमिक उपचारपछि सामान्य अवस्थामा फर्केका छन् । तर, वडाध्यक्ष इस्तेखारसहित दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ ।

उक्त घटनापछि आन्दोलित बनेका माओवादी कार्यकर्ताले हरिवनको सडकमा चक्काजाम गर्दै केही बेर नाराबाजीसमेत गरे । माओवादी कार्यकर्ताले एमालेले आफ्ना उम्मेदवारलाई मार्ने षड्यन्त्र गरेको आरोप लगाएको छ । सो घटनाको केहीअघि माओवादीका मेयर उम्मेदवार बुढाथोकी र तत्कालीन विप्लव माओवादीका दिवंगत नेता कुमार पौडेलका भाइ हरिराम पौडेलबीच भनाभन भएको थियो । स्वर्गीय कुमारकी श्रीमती अहिले वागमती नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कुमारको परिवारले उनको हत्यामा माओवादीका बुढाथोकीको हात रहेको आरोप लगाउँदै आएको छ ।

आइतबार माओवादीको घरदैलो अघि हरिवनमा भेटिएका हरिरामलाई माओवादी कार्यकर्ताले हातपात गरेका थिए । बुढाथोकीले पनि आफूमाथि हात छोडेको भन्दै हरिरामले फेसबुकमा पोस्ट गरेका छन् ।सोही घटनालाई ढाकछोप गर्न माओवादीले विषको प्रोपोगान्डा निकालेको एमालेका नेताहरूको भनाइ छ । यसैबीच, नेपाल प्रहरीले घरदैलोमा जाने उम्मेदवारले अपरिचित व्यक्तिले दिएको कानेकुरा नखान आग्रह गरेको छ । भोट माग्न जाने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा खाएर बेहोस हुने र बिरामी पर्ने क्रम देखिएकाले त्यस्ता खानेकुरा नखान नेपाल प्रहरीको प्रधान कार्यालयले सूचना जारी गरेर सचेत गराएको छ ।