नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट सार्वजनिक


काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ ।
राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।

राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो । छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन् ।समितिका सदस्यमा प्राज्ञिक कलाकार रमेशनाथ खनाल, नोबेल एकेडेमी कला विभागका प्रमुख विपिनराज श्रेष्ठ र सिर्जना कलेज अफ फाइन आर्ट्सका प्रमुख प्रो. राधेश्याम मुल्मी तथा सदस्य–सचिवमा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा रहेका छन् ।

लोगोमा माछापुच्छे हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । ४ धर्साले साविकको प्रदेश ४ लाई पनि दर्शाएको पौड्यालले जानकारी गराए । चन्द्रसँर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार परोको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ । लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरियो । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुनेछन् ।