लामखुट्टे नियन्त्रण पनि चुनावी मुद्दा !


बाँके ।

चुनावमा नयाँ–नयाँ मुद्दाहरु उठ्ने गरेको छ । आसन्न चुनावमा नेपालगञ्जको लामखुट्टे नियन्त्रण पनि मुद्दा बनेको छ । यो सबैको पार्टीको नभए पनि नेकपा एमालेका पशुपतिदयाल मिश्रले उठाएका छन् ।

नेपालगञ्ज अत्यधिक गर्मी हुने शहर नै मानिछ । यहाँ गर्मीसंँगै लामखुट्टे बिगबिगी हुने गर्दछ । यो मुद्दा अहिलेसम्म चुनावी मुद्दा बन्ने गरेको थिएन । यद्यपि, नेपालगञ्जबासीका लागि ठूलो समस्याका रूपमा रहेको छ । लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने गरेको छ । नेपालगञ्जवासीका लागि यी रोग जनस्वास्थ्य समस्या हुन् । यति ठूलो जनस्वास्थ्य समस्या निम्त्याउने लामखुट्टे नियन्त्रणका बारेमा अरू उम्मेदवारले मुद्दा बनाउने गरेका छैनन् ।

नेकपा एमालेका उम्मेदवार मिश्रले लामखुट्टे नियन्त्रणको मुद्दालाई समातेका छन् । मिश्रले लामखुट्टे नियन्त्रण गर्ने र त्यसबाट निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने रणनीति अघि सारेका छन् । लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाई अपरिहार्य हुन्छ । नेपालगञ्जलाई सफा शहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । सफा शहरको योजना मिश्रले अगाडि सारेका छन् । उहाँले भन्नुहुन्छ– ‘इच्छाशक्ति चाहिन्छ यो काम गर्न । हामीसंँग त्यो इच्छाशक्ति छ । ढुक्क हुनुहोस् हामी त्यो काम गर्छौ ।’

कुनै उम्मेदवारले नउठाएको मुद्दा उठाएपछि मिश्र चर्चामा आएका छन् । ठूल्ठूला मुद्दालाई उठाएर तँछाडमछाड गरिरहेका उम्मेदवारले ओझेलमा परेको यो ठूलो समस्यालाई अगाडि सार्नुपर्नेमा स्थानीयको जोड रहेको छ ।भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्यका मुद्दालाई समेट्ने गरिएको छ । अहिले चुनावी माहोल चलिरहँदा नेपालगञ्जको तापक्रम ४० डिग्रीको आसपासमा छ । गर्मी अनि लामखुट्टे नेपालगञ्जको परिचयजस्तै बनिरहेको छ । त्यसमा फोहोरी शहर अर्को उपमा जोडिएको छ । सफा शहर र लामखुट्टे नियन्त्रण गर्दा नेपालगञ्जलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सक्छ । ठूल्ठूला योजनाका गफ दिनुभन्दा सबैजसो उम्मेदवारले सानो लाग्ने तर ठूलो रहेको समस्यालाई नियन्त्रण गर्नेतिर लाग्दा स्थानीयको भलाई नै देखिन्छ ।

नेपालगञ्जमा नेपाली कांग्रेस र जसपाको गठबन्धनबाट मेयरमा प्रशान्त शर्मा र उपमेयरमा कमरुद्दिन राईले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । राप्रपाबाट नन्दलाल वैश्य मैदानमा उत्रिएका छन् । पुरानोमध्येको चर्चित यो शहरको बागडोर सम्हाल्न कस्सिएका उम्मेदवारहरुले ठूल्ठूला चुनावी एजेन्डाहरु अघि सारिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालगञ्जमा त्रिपक्षीय भिडन्त नै देखिन्छ । लामा लामा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवारहरु घरदैलो र जनतासँग भेटघाट गरिरहेका छन् । बिहानदेखि साँझसम्म नेपालगञ्जका विभिन्न वडाहरुमा उम्मेदवारहरूको घरदैलो चलिरहेको छ । प्रतिबद्धता र आश्वासन बाँड्दै उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । आ–आफ्ना मुद्दा बोकेर जनताको घरदैलोमा गएका उम्मेदवारहरुले आफ्नो जीत निश्चित रहेको प्रतिक्रिया दिने गरेका छन् । पुरानो शहर नेपालगञ्जको नेतृत्व कसले गर्छन् त्यो ३० गतेपछि देखिने नै छ ।