केन्द्रीय अध्यक्षकै गृहजिल्लामा राप्रपा शून्य

0
Shares

हेटौंडा  ।

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाकै गृहजिल्ला मकवानपुरमा उहाँ नेतृत्वको पार्टीबाट स्थानीय तहमा उम्मेदवारी शून्य देखिएको छ ।विगतका निर्वाचनमा मकवानपुर जिल्लामा कमल थापा रहेको पार्टीको प्रभावशाली उपस्थिति रहन्थ्यो । तर, यसपटक भने नेकपा एमालेलाई विधिवतरूपमै पार्टी समर्पण गरेर थापा मौन देखिनुभएको हो ।

राप्रपाले हेटौंडा उपमहानगर प्रमुख-उपप्रमुखसहित सबै वडामा उम्मेदवारी दिँदा थापा नेतृत्वको राप्रपा नेपालले एक जना पनि उम्मेदवार उठाउन सकेन । एमालेले अन्तिम समयमा ‘धोका’ दिँदा पार्टीका तर्फबाट उम्मेदवारी हाल्ने अवस्था नबनेको पार्टी नेताहरु बताउँछन् । यसपटक राप्रपाले उपमहानगर प्रमुख र उपप्रमुखसहित १९ वटै वडामा उम्मेदवार उठाएको छ ।

नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले आफ्ना उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्ने सहमतिबमोजिम राप्रपा नेपालका सदस्य, शुभचिन्तक तथा मतदातालाई राप्रपा नेपालका उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाब चिह्न ‘तीर’ मा मतदान गर्न र यदि सहमति नभएका स्थानीय तहहरुमा ‘सूर्य’ मा मतदान गर्न पार्टीले आह्वान गरेको छ ।

मकवानपुरमा नेकपा एमालेको बलियो पकड भएको भँन्दै पार्टी जिल्ला अध्यक्ष गुरु सापकोटाले भन्नुभयो– ‘पार्टी पुनर्गठन भएको छोटो समयमा स्थानीय तहको निर्वाचन घोषणा हुँदा नेता–कार्यकर्तालाई संगठित गर्न सकिएको छैन । किनकि, स्थानीय तहको निर्वाचनको संघारमा राप्रपा नेपाल पुनर्जागृत भयो ।’

राप्रपा नेपालले मकवानपुरका स्थानीय क्षेत्रमा एमालेलाई समर्थन गरेर ‘सूर्य’ चिह्नमा मतदान आफ्ना मतदातालाई अपिल गरेको छ । पार्टी जिल्ला अध्यक्ष सापकोटाका अनुसार हेटौंडा उपमहानगरका साथै अन्य पालिकामा एमालेसँग चुनाबी गठबन्धनको प्रयास भएको थियो । तर, मागेजति भाग एमालेले नदिएपछि उम्मेदवारीमा तालमेल हुन सकेन । ‘हामीले केन्द्रको निर्देशनअनुसार निःसर्तरूपमा एमालेलाई सहयोग गर्ने निर्णय गरेका छौं ।’ –सापकोटाले भन्नुभयो । एमालेसँग कुरा मिलेर संयुक्त उम्मेदवारी हाल्न सक्ने वातावरण नबनेपछि अधिकांशले राप्रपाबाट उम्मेदवारी दर्ता गरेको सापकोटाको दाबी छ ।

मंसिरमा सम्पन्न पार्टीको केन्द्रीय निर्वाचनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गर्नुभएका उहाँले स्थानीय तह निर्वाचनमा भने आफ्नै गृहजिल्लामा साथ पाउनुभएन । थापाकै प्रभावबाट हेटौंडा उपमहानगरका साथै मकवानपुरभर राप्रपाको जनमत निर्माण भएको मानिन्छ । २०६३ सालमा थापाले राप्रपा नेपाल गठन गर्दा उक्त जनमत उहाँकै नेतृत्वमा अगाडि बढेको थियो । २०७६ मा राप्रपासँग एकीकरण भएपछि मकवानपुरमा थापाको प्रभाव थप बलियो बन्यो । तर, हाल उहाँले पार्टी छाडेर गएपछि जिल्लामा राप्रपा नेपाल निकै कमजोर देखिन्छ ।

राप्रपा नेपालका एक नेताका अनुसार सकेसम्म एमालेसँग तालमेल गर्ने, त्यो सम्भव नभए सूर्य चिह्न लिएर राप्रपाबाट उम्मेदवार उठाउने पार्टीको तयारी थियो । एमालेले भने आफ्नो चुनाब चिह्न दिएर राप्रपाका नेतालाई उम्मेदवार बनाउन मानेन । यति हुँदा पनि निःसर्त एमालेलाई सहयोग गर्नुको पछाडि थापाको स्वार्थ आगामी संसदीय निर्वाचन रहेको उहाँनिकट एक नेताले बताउनुभएको छ । तर, एमालेबाट संघीय र प्रादेशिक संसदीय नेतृत्वका लागि थुप्रै सक्षम उम्मेदवार रहेकाले एमालेले थापालाई समर्थन गर्न सक्ने अवस्था नरहने राजनीतिक विश्लेषण छ ।

२०५६ को निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित थापा चारपटक निकटतम् प्रतिद्वन्द्वी बन्नुभएको थियो । पछिल्लो समय राप्रपा नेपालका अध्यक्ष बन्नुभएका थापा यसपटकको निर्वाचनमा गृहनगरमै निरीह देखिनुभएको छ । तर, राजनीतिका चतुर खेलाडी मानिने थापा यसपटक मौन देखिनु तर एमालेको प्रचारमा नहिँड्नुलाई भने अर्थपूर्ण मान्नुपर्दछ ।थापाले एमालेलाई समर्थन गरे पनि राप्रपाको उम्मेदवारीले हेटौंडा उपमहानगरपालिकाको चुनावी नतिजालाई प्रभावित पार्ने अवस्था भने छ । हेटौंडामा प्रमुख प्रतिस्पर्धा पाँच दलीय सत्ता गठबन्धन र एमालेबीच रहे पनि राप्रपाको उम्मेदवारीले नतिजा प्रभावित गर्ने देखिएको छ । किनकि, गत स्थानीय चुनाबमा राप्रपाका उम्मेदवारले नगरमा करिब ७ हजार मत पाएका थिए ।

नगर प्रमुखमा राप्रपाका उम्मेदवार दीपक सिंह काठमाडौंमै व्यापार–व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले राप्रपाको भोट जोगाउँदै राप्रपा नेपाल र कांग्रेसका केही भोट तान्ने रणनीति बनाउनुभएको छ । टिकटका विषयमा आन्तरिक विवादका कारण मकवानपुर कांग्रेसको केही भोट आफूले पाउनेमा सिंह ढुक्क हुनुभएको छ । हेटौंडामा ‘ह्याट्रिक’ को इतिहास रचेको एमाले त्यही इतिहासलाई निरन्तरता दिने चुनौतीबीच उभिँदा सिंहलाई कम चुनौती भने छैन । समान राजनीतिक विचारधारा बोकेको राप्रपाले सेटमै प्रतिस्पर्धा गरिरहँदा राप्रपा नेपालका मतदाता राप्रपालाई छान्ने कि एमालेलाई छान्ने भन्ने दोधारमा देखिन्छन् ।

गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहनभएका कांग्रेसका आनन्दराम पराजुली यसपटक पुनः मेयरको टिकट पाउनेमा ढुक्क भए पनि हेटौंडा उपमहानगर एकीकृत समाजवादीले पाएको छ । पराजुली समूहको यही असन्तुष्टिलाई एमालेले आफ्नो अनुकूलतामा लिने प्रयास गरिरहेको छ । सोही भोट तान्ने प्रयासमा राप्रपा पनि देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हेटौंडा उपमहानगरमा १ लाख ४ हजार ४ सय ७३ मतदाता छन् । तीमध्ये करिब ३१ प्रतिशत मतदाता जनजाति (तामाङ) समुदायका, बाह्मण २६ र क्षेत्री १३ प्रतिशत छन् । गठबन्धनले समाजवादीकी मीना लामालाई मेयरमा उठाएको अर्को कारण पनि सिंह दबाबमा हुनुहुन्छ ।