म्याग्दीमा नमुना मतदानको अभ्यास


म्याग्दी । 

आगामी ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि म्याग्दीमा बिहीबार नमुना मतदान भएको छ । निर्वाचन नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको संयुक्त आयोजनामा नमुना मतदानको अभ्यास भएको हो ।

कुल १ सय ८ मत खसेकोमा सदर मत ८६, आंशिक बदर १९, पूर्ण बदर मत १ र कुनै पनि चिह्नमा मतदान नगरेको (खाली मतपत्र) २ मत रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँले सकभर कमभन्दा कम मत बदर होस् भनेर नमुना मतदानको अभ्यास गरिएकोमा धेरै मत बदर हुनु मतदाताको लापरबाही तथा मतदाता शिक्षाको अभाव देखिएको बताउनुभयो ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माविको मतदान केन्द्रमा गरिएको नमुना मतदान अभ्यासको कार्यक्रममा विद्यार्थी, पत्रकार, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला तथा सर्वसाधारणले सहभागिता जनाएका थिए । नमुना मतदान अभ्यास कार्यक्रममा म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पहिलो मत खसालेर नमुना मतदान अभ्यासको उद्घाटन गर्नुभएको थियो ।

नमुना मतदानको अभ्यास कार्यक्रममा मतदानको दिनमा हुने सबैखाले गतिविधि सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली रुजु गर्नेदेखि लिएर मत खसालेर बाहिर निस्किनेसम्मको व्यवस्था वास्तविक मतदानको समयमा जस्तै गरी मिलाइएको थियो । नमुना मतदानको क्रममा लाइन बस्ने, नाम रुजु गर्ने, मतपत्र लिने, मतपत्रमा स्वस्तिक छाप लगाउने, मत बदर नहुने गरी पट्याएर मतपेटिकामा राख्ने र बाहिर निस्कने मार्गको प्रयोग समेत गर्नेसम्मका प्रक्रियाका बारेमा पनि प्रयोगात्मक अभ्यास गराइएको थियो ।सर्वसाधारणलाई मतदान गर्ने तौरतरिका सिकाउन र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारीसमेत रहनुभएका निर्वाचन कार्यालयका प्रमुख घिमिरेको भनाइ छ ।

मतदाता शिक्षाको अभाव र मतदानको अभ्यास नहुँदा धेरै मत बदर हुने अवस्था देखिएकाले मतदाता शिक्षा सञ्चालन गर्नुपर्ने नमुना मतदानको मत परिणामले समेत देखाएको अनुमान गर्न सकिन्छ ।एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । कुल ७४ वटा मतदानस्थल रहेको म्याग्दी जिल्लामा १ सय १४ वटा मतदान केन्द्र तोकिएको छ ।स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ६ सय १९ जना म्यादी प्रहरीहरु छनोट गरी आवश्यक तालिम र अभ्यास पनि भइरहेको छ ।