नामले मात्र होइन कामले पनि भगवान् बन्छु

0
Shares

काभ्रे । 

सञ्चारर्कीहरु बुधबार बिहानै बेथानचोक गाउँपालिका–३ चलालगणेस्थान पुग्दा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका प्रत्यासी भगवान् अधिकारीसहितको टोली भोट माग्दै गाउँलेको घरदैलो अभियानमा थिए ।

कांग्रेस काभ्रेका जिल्ला कोषाध्यक्ष, पनौती कांग्रेसका चुनावी कमान्डर भोला थापा, पनौती कांग्रेसका नेता धनबहादुर जंगम सहितको टोली पनि बेथानचोकमा अधिकारीको नेतृत्वको उम्मेदवारको पक्षको माहौल बुझ्ना चलाल पुगेको थियो ।अलि टाढा मत माग्दै गरेको समूह देखियो । बिहान सबेरैदेखि मत माग्दै मतदाताको घरदैलो धाइरहेका भगवान्ले वडा नं ३ को चलाल र पोखरीडाँडा गाउँलाई देखाउँदै भन्नुभयो– ‘म नामले मात्र होइन, कामले पनि यी गाउँलेको भगवान् बन्न चाहन्छु ।’

कांग्रेसको पकड क्षेत्र मानिएको बेथानचोक गाउँपालिकामा माओवादीसँग गठबन्धन गरी नेपाली कांग्रेस चुनावमा होमिएको छ । २०७४ सालको निर्वाचनमा एक जना वडा सदस्यबाहेक सम्पूर्ण पदमा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो । प्राकृतिक स्रोत साधानले भरिपूर्ण अत्यन्त सुन्दर गाउँपालिकाका रूपमा परिचित बेथानचोकलाई आगामी पाँच वर्षभित्र समग्र विकास गरी देश–विदेशमा परिचित गराउने योजनाका साथ अघि बढेका भगवान् यो क्षेत्रको लोकप्रिय नेता हुन् ।

‘यी गाउँमा बाटो, बिजुली, खानेपानी, सिँचाइ, सञ्चार सुविधा पु¥याउने र यहाँका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउने मेरो लक्ष्य छ । गाउँलेको घरअगाडि तत्काल ठूलो अस्पताल बनाउन त सक्दिनँ तर गाउँले बिरामी हुँदा आधा घण्टाभित्र स्वास्थ्य संस्था वा सुविधासम्पन्न अस्पताल पु-याउने व्यवस्था मिलाउन सक्छु’, गाउँका घरहरु देखाउँदै भगवान् भन्नुहुन्छ– ‘यहाँका विद्यार्थीलाई यहीं गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन सक्छु । सरकारको मुख नताकी निजी लगानीकर्ता ल्याएर रोजगारमूलक व्यवसाय सञ्चालन गराउन सक्छु ।’
समाज सेवाको भावका साथ विद्यार्थीकालदेखि नै कांग्रेस राजनीतिमा सक्रिय उहाँ नेपाली राजनीतिमा जिल्लादेखि केन्द्रसम्म परिचित हुनुहुन्छ ।

गुरुयोजनाका साथ आगामी पाँच वर्षभित्र जन्मभूमि बेथानचोकको विकासलाई लक्ष्यमा पु¥याउन खाका तयार गरिरहेका अधिकारी अघिल्लो निर्वाचनमा पनि अघि सरेका थिए । तर, कांग्रेसभित्र पुरानो पुस्तालाई अन्तिम एकपटक अवसर दिनुपर्ने अवाज उठेपछि पछि हटेका थिए ।
अहिले हाई–हाई भएकै बेला युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वर्तमान अध्यक्ष प्रमवहादुर तिमल्सिनाले पनि भगवान्लाई साँच्चिकै भगवान् बन्ने अवसर दिनुभएको छ ।

युवा जोश–जाँगर मात्र होइन राजनीतिक अनुभवसमेत प्रशस्त भएका अधिकारीले आफ्नो गाउँपालिका विकासका लागि देश–विदेशमा भएका विज्ञहरुसँग निरन्तर छलफलमा गरिरहनुभएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, जडीबुटी उत्पादन, औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र, अनुसन्धान क्षेत्र लगायत छुट्टाछुट्टै क्षेत्र निर्माण गरी गाउँपालिकाभित्र लगानी र रोजगारी बढाउने अधिकारीको योजना छ ।‘बेथानचोकलाई प्रत्येक वडामा एउटा–एउटा पकेट क्षेत्र बनाएर अघि बढाउनुपर्छ’, उहाँ भन्नुहुन्छ– ‘पहिला दुर्गम मानिएका साविक ढुंखर्क, च्याम्राङवेंशी, चलालगणेस्थान, भूदेउ मिलाएर बनाइएको बेथानचोक सम्भावना नै सम्भावनाले भरिपूर्ण छ । हाम्रो गाउँपालिका सानो अनि सुन्दर छ ।’

गोवा भञ्ज्याङदेखि च्याम्राङवेंशी जाने बाटोलाई पूर्णता दिने, जडीबुटीलगायत विभिन्न उद्योग खोल्ने, दुग्ध फ्याक्ट्री खोल्ने, बजार क्षेत्रलाई व्यवस्थित गर्ने, माथिल्लो क्षत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, उब्जनी क्षेत्रको विकास गर्ने, परम्परागत निर्वाहमुखी कृषि पेसालाई आधुनिक र व्यावसायिक बनाउने मात्र होइन बेथानचोकको सबै क्षेत्र हेर्नलायक बनाउने अधिकारीको योजना छ ।बेथानचोकको वडा नम्बर २ र ३ को संगमस्थलबाट केबलकार सञ्चालनको सम्भावनाको खोजी गर्ने मात्र होइन पाँच वर्षभित्र बेथानचोकलाई नगरकोट र धुलिखेल जस्तै पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना पनि उहाँले अघि सार्नुभएको छ ।

बेथानचोकको वडा नमबर ५ मा कामीडाँडा पर्छ । कामिडाँडा माओवादी द्वन्द्वकालमा चर्चित ठाउँ हो । यो स्थानलाई कृषि उत्पानका साथै वैचारिकस्थल बनाउन पूर्वाधार निर्माण गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ । बेथानचोकको नेतृत्व लिन अघि बढेका कांग्रेस नेता अधिकारीको पहलमा हालैमात्र यहा नागरिक आरोग्य केन्द्र स्थापना भएको छ । बेथानचोकमा निजी लगानीकर्ता भित्राउने, कम्तीमा पनि ५ हजार जनालाई रोजगारी उपलब्ध गराउने, विभिन्न विश्वविद्यालयसँग समन्वय गरी शैक्षिक संस्था तथा अनुसन्धान केन्द्र स्थापना गर्ने मात्र नभएर हिन्दू र बौद्ध धर्मालम्बीको धर्मसंस्कृति जोगाउन गुरुकुल सञ्चालन गर्ने सम्मको उहाँको योजना छ ।

बेथानचोकमा हरेक महिना सम्बन्धित क्षेत्रका विज्ञ ल्याएर बृहत् संवाद कार्यक्रम गर्ने योजना पनि अधिकारीको छ । राजनीतिशास्त्र र पत्रकारितामा स्नाकोत्तर गरेका अधिकारी नेविसंघको दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् । नेविसंघको पूर्वकेन्द्रीय सदस्य, कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको पूर्वकेन्द्रीय सदस्य रहेका अधिकारी राष्ट्रिय राजनीतिमा जति सक्रिय छन् त्योभन्दा बढी स्थानीय तहमा सक्रिय छन् ।उहाँले भूकम्प र कोरोना महामारीमा जनताको घरदैलो पुगेर सेवा प्रदान गर्नुभएको थियो ।