सामाजिक अभियान्ता जोशी ललितपुर महानगरका उम्मेदवार


ललितपुर  ।

ललितपुरमा अजरमान जोशीको उपस्थितिबिना कुनै सभा–समारोह नै हुँदैन कि भन्ने सम्म प्रश्न जनमानसमा उठ्ने गरेको छ । जुनसुकै कार्यक्रममा उहाँको सक्रिय सहभागिता हुने गरेकाले जनमानसमा सहज र स्वभाविक रूपमा सो प्रश्न उठेको हो ।

तिनै जोशी अहिले ललितपुर महानगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार बनेका छन् । ललितपुरको हस्तकला र पर्यटन विकासको माध्यमबाट आर्थिक रूपान्तरणको जग बसाल्न जीवनको आधा समय खर्चिउका उहाँको उम्मेदवारीले चुनावी परिदृश्य थप रोचक तुल्याएको छ । निर्वाचन अधिकृतको कार्यालयले गत शनिबार उहाँलाई खरायो चुनाव चिह्न दिएको छ । सधैं पैदल हिँड्न रुचाउने जोशी अहिले चुनावी परिणाम आफ्नो पोल्टामा पार्न खरायोझैं दौडिरहनुभएको छ ।

महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । यस्तो स्थितिमा जनतामा भिजेको, व्यापक सम्पर्क सञ्जाल भएको र सामाजिक व्यक्तित्वको उम्मेदवारीले विभिन्न राजनीतिक दलका उपमेयरका उम्मेदवारलाई कडा टक्कर दिएको छ ।

दुई पार्टीबीच गठबन्धन हुँदा मोबाइलमा ब्यालेन्स वा एक बैंकबाट अर्को बैंकमा नगद ट्रान्सफर भएझैं एक–अर्काको पार्टीको मत आकर्षित हुन्छ कि हुँदैन भन्ने कौतुहलता सर्वसाधारणमा कायमै छ । यस्तो बेला जोशीको उम्मेदवारले उपमेयरको चुनावी आँकलनको अंकगणित फेरिएको छ । उपमेयरमा माओवादीबाट बाबुराज बज्राचार्य, एमालेबाट मञ्जली (आस्था) शाक्य, राप्रपाबाट स्वर्णिमा शाक्यले उम्मेदवारी दिनुभएको छ ।

सिंगो जीवन सामाजिक क्षेत्रमा बिताएका जोशीको उपमेयरमा उम्मेदवारीले सर्वसाधारण जनतामाझ निकै उत्साहको वातावरण थपेको ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सविन श्रेष्ठको भनाइ छ । ‘दलहरुबीच आफ्नो नितान्त गुट, वैयक्तिक र सत्ता स्वार्थको राजनीतिले गर्दा जनता निरास भइरहेका बेला सामाजिक व्यवहारबाट जनताको सेवकका रूपमा प्रमाणित व्यक्तिले उम्मेदवारी दिएको सन्दर्भले हामीलाई हौस्याएको छ ।’ –उहाँले भन्नुभयो ।

२०४९ सालदेखि २०७४ सालसम्म ललितपुर उद्योग वाणिज्य संघमा सक्रिय रहेका जोशी संघको २०६८ र २०७० मा गरी दुईपटक अध्यक्षमा निर्वाचित भएका थिए । त्यससँगै प्रहरी र प्रशासनलाई जनमैत्री, जवाफदेही र उत्तरदायी बनाउने कार्यक्रममा जोशीको संयोजन र अगुवाइको भूमिका रहेको छ । जोशीकै अगुवाइमा महानगरीय प्रहरी प्रभाग मंगलबजारको भवन निर्माण भएको थियो ।‘उद्योगी व्यवसायीको हकहितसँगै सामाजिक कार्यमा लामो समय काम गर्दै जाने क्रममा साथीभाइ, शुभेच्छुकहरुको सल्लाह र सुुझावअनुसार नगर बनाउन मैले उम्मेदवारी दिएको हुँ’, जोशीले भन्नुुहुन्छ– ‘नागरिक समाज, आम उद्यमी व्यवसायी, सर्वसाधारण जनता मात्र नभई राजनीतिक दलमा लागेका इमानदार कार्यकर्ता पनि पार्टीभित्रको गतिविधि, नेता विशेष, गुट विशेषको कामले वाक्कदिक्क भइसकेका छन् । यस्तो बेला राजनीतिप्रति भरोसा र विश्वास जगाउने काम गर्नु अपरिहार्य रहेको छ । त्यसैले मैले उम्मेदवारी दिएको हुँ ।’

२०६९ फागुनमा भएको भएको ललितपुर महोत्सव, पाटन दरबार क्षेत्रमा पहिलोपटक १३ वटा सीसीटिभी राख्ने कार्य, २०७२ सालको भूकम्पपछि राहत वितरण, लगतै भूकम्पबाट क्षतिग्रस्त सम्पदा संरक्षण र पुनर्निर्माण कार्य जोशीलाई आम मानिसले सम्झिराख्ने कार्यहरु हुन् ।
संघमा सक्रिय भूमिकापछि जोशीले नागरिकमैत्री प्रहरी प्रशासनको अभियान, श्रीशान्ति विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भई काम गर्नुभएको थियो । हाल ललितपुरको नख्खुमा निर्माण भइरहेको मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माणमा क्रियाशील हुनुहुन्छ ।‘काम र व्यवहारबाटै जनताले परीक्षण गरिसकेकाले मेरो सोच र व्यवहार सबैलाई थाहा छँदै छ । पेसवर राजनीतिक कार्यकतालाई पटक–पटक हेरिसक्यौं, अब सामाजिक व्यक्तिलाई एकचोटी हेर्नुहोस् ।’ –पर्यटनविद् दिलेन्द्रराज श्रेष्ठले भन्नुभयो ।