विपन्न परिवारलाई निःशुल्क बिजुली



काभ्रे । 

नेकपा एमाले पाँचखालले आगामी निर्वाचनबाट पार्टीका उम्मेदवारहरु विजयी भए नागरिकलाई बिजुली बत्ती, सम्पत्ति करमा छुट दिँदै व्यवसायका लागि सहुलियत कर्जा उपलब्ध गराउने प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

‘आयस्तर कम भएका गरिब, दलित, सुकुम्बासीको घरमा बालेको २० युनिटसम्मको रकम नगरपालिकाले तिरिदिनेछ’, प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले भन्नुभयो– ‘भू–उपयोग नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।’ पाँचखाल नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले निवर्तमान मेयर महेश खरेल एमालेले गरेको काम देखाएर सेलिब्रेटी बनेको बताउनुभयो । स्थानीय निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्दै अधिकारीले झूटा प्रचार गरेर खरेलले जनतामा भ्रम छरेको आरोपसमेत लगाउनुभयो ।

पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा भएको स्थानीय तहको पाँचवर्षे नेतृत्व उपलब्धिमूलक हुन नसकेको एमालेको निष्कर्ष छ । हचुवाका भरमा बजेट विनियोजन, टुक्रे योजनामा प्राथमिकता, नगरपरिषद्को निर्णय अवहेलना, अनुत्पादक क्षेत्रमा लगानी निवर्तमान मेयर खरेलको प्राथमिकतामा परेको एमालेको मेयरका उम्मेदवार अधिकारीको भनाइ छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटा, एमालेका स्थानीय नेता कार्यकर्ताको पहलमा भएको कामलाई समेत खरेलले आफूले गरेको भनेर गलत प्रचार गरेको उहाँको दाबी छ ।

नेकपा एमालेको पहलमा मदन भण्डारी बहुप्राविधिक विश्वविद्यालय स्थापना, सुनकोशी इन्द्रावती खानेपानीको शुरुआत, विशेष आर्थिक क्षेत्रको कार्यान्वयन, ताथली रविओपी सुरुङमार्गको सम्भाव्यता अध्ययन, इन्द्रावती पाँचखाल लिफ्टिङ सिँचाइ सम्भाव्यता अध्ययनलगायतका महत्वपूर्ण आयोजना अघि बढेको अधिकारीले बताउनुभयो । यी आयोजनालाई पूर्णता दिन तथा सहज सेवा प्रवाहका लागि पनि एमालेले जित्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

आफू निर्वाचित भएपछि भू–उपयोग नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, पाँचखाललाई व्यवस्थित शहरका रूपमा विकास गर्ने, सबै वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने र मुख्य सडकलाई क्रमशः कालोपत्रे गर्ने अतिविपन्न नागरिकलाई बिजुली अनुदान दिने प्रतिवद्धता जनाएका छन् । यस्तै, हाम्रो गाउँः हामी बनाउँछौं कार्यक्रम सञ्चालन गर्ने, कृषियोग्य भूमिका सिँचाइको व्यवस्था मिलाउने, गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने समेत उहाँको भनाइ छ । यस्तै, उपप्रमुख पदकी उम्मेदवार सूर्यमाया दनुवारले कला संस्कृति तथा पुरातात्विक सम्पदाको संरक्षण, महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्