लमजुङमा तीनजनाको उम्मेदवारी बदर

0
Shares

लमजुङ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उमेदवारी दर्ताभएको तीनजनाको उमेदवारी बदरभएको छ । लमजुङको दोर्दी गाउँपालिकाको दुईजना र क्होलासोथार गाउँपालिकाको एकजनाको उमेदवारी बदरभएको हो ।

निर्वाचन आयोगले तय गरिएका कार्यविधि अनुसार उम्मेदवारी नपरेको उनीहरूको मनोनयन बदरभएको हो । कानुनी प्रावधानमा एकै पार्टीका दुईजना पुरुष उम्मेदार हुन नपाउनेभएका कारण दुईजनाको उम्मेदवारी बदरभएको हो भने एकजनाको हस्ताक्षरमा प्राविधिक त्रुटिभएका कारण बदरभएको हो ।

मनोनयन बदर हुनेमा क्होलासोँथार गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदारी दिएका मिनप्रसाद गुरुङको उम्मेदवारी बदरभएको हो । गुरुङले नेसनल मंगोल अर्गनाईजेसन पार्टीबाट गाउँपालिका उपाध्यक्षमा उम्मेदारी दिएका थिए । एउटै पार्टीबाट अध्यक्ष र उपाध्यक्ष पदमा दुवैजना पुरुषको उम्मेदवारी परेपछि सम्बन्धित पार्टीसँग छलफल गरी उपाध्यक्षका उम्मेदारको मनोनयन बदर गरिएको क्होलासोथार निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी, दोर्दी गाउँपालिकाअन्तर्गत नेसनल मंगोल अर्गनाइजेसन पार्टीबाटै उम्मेदारी दिएका रामबहादुर गुरूङको पनि मनोनयन बदरभएको छ । सोही कानुनी प्रावधानका कारण उम्मेदवारी खारेजी हुनेभएपछि सम्बन्धित पार्टीसँग समन्वय गरी अध्यक्ष पदका उम्मेदार गुरुङको मनोनयन बदर गरिएको दोर्दी निर्वाचन अधिकृत हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।दोर्दी गाउँपालिकाअन्तर्गत वडा नम्वर ५ मा दलित महिला सदस्य पदमा उम्मेदारी दिएकी कुमारी सार्कीको पनि उम्मेदारी बदरभएको छ । सार्कीको हस्ताक्षरमा प्राविधिक समस्या आएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी बदर गरेको हो ।