मुगुकास्थानीय तहमा महिला उम्मेदवार ३३ प्रतिशत पनि पुगेन

0
Shares

मुगु ।

नेपाली काँग्रेसकी महासमिति सदस्य सूर्यदेवी मल्ल दुई दशक बढी समयदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ तर, उहाँलाई पार्टीले हालसम्म कुनै पनि चुनावमा प्रमुख पदमा टिकट दिएको छैन। जिल्लाका महिला नेतृहरूलाई पार्टीका झण्डा र ब्यानर बोकाएर नारा जुलुसमा हिँडाउनेभन्दा बढी अवसर नेतृत्वले नदिएको उहाँको गुनासो छ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि छाँयानाथ रारा नगरपालिकाको मेयर पदमा काँग्रेस जिल्ला संसदीय समितिले कर्णाली प्रदेश संसदीय समितिलाई १२ जनाको नाम सिफारिस गर्यो ।१२ मध्ये एक जना मात्रै महिलासिफारिस भए पनि अन्तमा प्रदेश समितिले उहाँलाई टिकट दिएन। १२–१५ वर्षको कलिलो उमेरबाटै पार्टीको लागि संघर्ष गर्दै आएको उहाँ बताउनुहुन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा उनले छाँयानाथ राराको मेयरको आकांक्षा राखे पनि उहाँलाई पार्टीले मेयरका लागि सिफारिस गरेन। २०७४ मा उहाँकर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको थियो । दुई दशक बढी राजनीतिमा सक्रिय हुँदा पनि पार्टीबाट आवश्यक मूल्याँकन हुन नसकेको उहाँ बताउनुहुन्छ ।

छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा काँग्रेसबाट ऐश्वर्य मल्ल र एमालेबाट टोमा लामाको उम्मेदवारी परेको छ। नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरी प्रमुख र उपप्रमुख पदमा पुरूष उम्मेदवार उठाएका छन्।यता, खत्याड गाउँपालिकामा नेकपा (एमाले)की नेतृ कविता गिरीले पनि अध्यक्ष पदमा चुनाव लड्ने चाहना राख्नुभएको थियो । तर, पार्टीले उहाँलाई उपाध्यक्षमै सीमित राख्यो। अध्यक्षमा पार्टीले नस्विकारेपछि उहाँले उपाध्यक्षमै चित्त बुझाउनुप-यो ।

उता, सोरूगाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुषको मात्रै उम्मेदवारी दर्ताभएको छ। उक्त गाउँपालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेलका कारण तीनै पार्टीमा महिला उम्मेदवार चुनाव लड्नबाट वञ्चितभएका छन्। मुगुको कार्मारोङ गाउँपालिकामा पनि महिला नेतृ उपप्रमुखमै सीमितभएका छन्।एक नगरपालिका, तीन गाउँपालिका र ४५ वडा रहेको मुगुमा जिल्लाकै ठूलो दल नेपाली कांग्रेसले वडाध्यक्षमा एकजना महिलालाई पनि उम्मेदवार बनाएको छैन। जिल्लाभरिमै ठूला दलबाट तीन महिलाले

मात्रै वडाध्यक्ष पदमा उम्मेदवारी पाएका छन्। राप्रपा र जसपाबाट एक–एक महिलाको उम्मेदवारी परेको छ। एकीकृत समाजवादीले छायाँनाथ रारा–११ मा कुन्जमा कुमाईलाई, एमालेले मुगम कार्मारोङ–९ मा छोटे लामालाई र माओवादी केन्द्रले सोरू–३ मा मनकला रोकायालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।सोरू गाउँपालिका–१० की कमला थापा आचार्यको नामभएको वडाध्यक्षको टिकट रातारात परिवर्तन गरिएको उहाँका आफन्त बताउँछन्।

मनोनयन दर्ता गर्न पालिका केन्द्र पुगेपछि अन्तिम समयमा टिकट अर्कैलाई दिएपछि उहाँले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। वडाध्यक्षमा सिफारिस भए पनि कांग्रेसले टिकट नदिएपछि सोरू–६ की हिरादेवी भट्टले पनि वडाध्यक्षका लागि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनुभएको छ ।

राज्यले दिएको ३३ प्रतिशत आरक्षित कोटासमेत मुगुमा कुनै पार्टीबाट पूरा हुन नसकेको काँग्रेस महासमिति सदस्य सूर्यदेवी मल्ल बताउनुहुन्छ । प्रत्येक पार्टीबाट अरक्षित कोटा मात्रै १४ वडाध्यक्ष महिलाको भागमा हुनुपर्नेमा एउटा पनि नपाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको न्यून उपस्थितिले महिलाप्रति राजनीतिक दलले गरेको विभेदलाई देखाउने महिला अधिकारकर्मी र नेतृहरूको बुझाइ छ । महिला उम्मेदवारीमा पार्टीले झिनो रूपमा लिएपछि स्थानीय निकाय निर्वाचनमा महिलाले मतदान र प्रचारमा खासै उत्साह देखिएको छैन ।