मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइँदै

0
Shares

मनाङ । 

आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी, स्ट्याम्प प्याड, लाहा, मैनबत्तीलगायतका विभिन्न सामग्री मतदान केन्द्रमा पठाउने तयारीमा रहेको प्रमुख निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका चारवटै स्थानीय तहका २८ मतदान केन्द्रमा पठाउन विभिन्न सामग्री विभाजन गरी २८ पोका बनाइएको छ । निर्वाचनका लागि तयार पारिएको सामग्री टाढा मतदान केन्द्रमा वैशाख २६ गते पठाइनेछ भने नजिकका मतदान केन्द्रमा वैशाख २७ गते निर्वाचन सामग्री पठाइने शर्माले बताउनुभयो ।

‘मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी नियुक्त गर्ने र तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो– ‘कर्मचारी नियुक्ति प्रक्रिया चलिरहेको छ, नियुक्ति गरेर ओरियन्टेसन गराई मतदान केन्द्रमा २७ गतेसम्म कर्मचारी पठाउने छौँ ।’ २७ गतेसम्म कार्यालय स्थापना गरी सूचना टाँस गर्नुपर्ने उहाँले बताउनुभयो ।

धेरै काम पूरा भइसकेका छन् । विभिन्न स्थानका मतदान केन्द्रको अनुगमन पनि तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित र भयरहित तबरबाट सहज रुपमा मतदातालाई मतदान गर्ने वातावरण बनाउन सुरक्षा निकाय प्रमुखसहित विभिन्न स्थानमा अनुगमन गरिएको छ ।

निर्वाचनका लागि नासोँ गाउँपालिकाका सबै मतदान केन्द्रको तयारीका बारेमा जानकारी लिने उद्देश्यले मंगलबार अनुगमन गरिएको उहाँले बताउनुभयो । सुरक्षित राख्ने स्थान निर्माण गरी सामग्री पठाउनुपर्ने भएकाले पनि अनुगमनलाई तीव्र पारिएको उहाँको भनाइ छ । नासाँेको नौवटा मतदान केन्द्रको अनुगमन तथा अवलोकन गरिएको उहाँले बताउनुभयो ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिममा दिने सामग्रीसमेत तयार भएको उहाँले बताउनुभयो । निर्वाचन ऐन, नियमावली, आचारसंहिता, झोला, स्थानीय तह मतदान निर्वाचन निर्देशिका, मतदान आचारसंहिता निर्देशिकालगायत सामग्री तयार पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।