गौरीशङ्करका उम्मेदवार मत माग्न काठमाडौँमा

बेदिङको वेदना

0
Shares

दोलखा

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्ना मतदातासँग मत माग्न र आफ्नो पार्टीको घोषणापत्र तथा व्यक्तिगत योजनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउन गाउँगाउँ पुगेका छन् ।

तर दोलखाको एउटा यस्तो वडा छ जहाँ प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरु मत माग्न गाउँमा हैन काठमाडौँमा धाइरहेका छन् । दोलखा गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने हिम आरोहीहरुको गाउँ बेदिङका अधिकांश बासिन्दा काठमाडौँमा बस्ने भएकाले वडामा प्रतिस्पर्धा गरिरहेको उम्मेदवार मत माग्न काठमाडौँ धाइरहेका हुन् ।

गाउँमा शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत कुराहरुसमेत नभएकाले बेदिङबासीले गाउँ छाडेपछि उम्मेदवारहरु मतमाग्न राजधानी जानुपरेको स्थानीय निङमाफुटी शेर्पाले बताउनुभयो ।‘गाउँमा भएको विद्यालय बन्द छ त्यसैले यहाँका अधिकांश मानिस बालबालिकालाई पढाउनकै लागि पनि काठमाडौँ बस्न बाध्य छन्’ –निङमाफुटीले भन्नुभयो । गाउँमा कोही बिरामी प¥यो भने सिटामोलसमेत पाउन नसकिने उहाँको भनाइ छ ।

बेदिङको जनसंख्या ३ सय ११ रहेको छ । २०७९ को मतदाता नामावलीमा बेदिङका ९५ जनाको नामावली रहेको छ । मतदाता नामावलीमा नाम रहेका ९५ जनामध्ये १५ घरधुरीका ३५ जना मात्र गाउँमा रहेको र बाँकी सबै काठमाडौँमा बस्दै आउनुभएको आङफुर्वा शेर्पाले बताउनुभयो ‘निर्वाचनको बेला विभिन्न दलका उम्मेदवारहरु मत माग्न आउने क्रममा गाउँमा विद्यालय, स्वास्थ्य चौकी, सडकजस्ता कुराका लागि पहल गर्ने वचन दिने गर्नुहुन्छ तर निर्वाचन जितेपछि त्यसको पहल गर्नु त परको कुरा पाँच वर्षसम्म गाउँमा फर्केर पनि आउनुहुन्न’ –स्थानीय आङफुर्वाले भन्नुभयो ।

नेपालकै सबैभन्दा उचाइमा रहेको च्छो–रोल्पा हिमताल जाने मार्ग तथा ६५ जनाले सगरमाथाको सफल आरोहण गरिसकेको हिमआरोहीको गाउँ बेदिङमा अहिले पनि १२ वटाभन्दा बढी साना–ठूला होटलहरु रहेका छन् । गाउँमा त्यही होटल चलाएर बसेका स्थानीय मात्र बस्ने गरेको दावाछिरिङ शेर्पाले बताउनुभयो ।

गौरीशङ्कर गाउँपालिकामा निर्वाचित प्रमुख–उपप्रमुख तथा वडा नम्बर ९ को वडा अध्यक्षले पाँचवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युतीकरण, सञ्चारजस्ता आधारभूत कुरामा ध्यान पु-याएर त्यसको व्यवस्थापन गर्न सके मात्र आगामी दिनमा उम्मेदवारहरुले मत माग्न काठमाडौँ जानुपर्ने अवस्था नहुने दावाछिरिङ बताउनुहुन्छ ।