आचारसंहितामा कडाइ, माइकिङमा समेत रोक


पर्वत

पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उद्घाटनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।

आचारसंहिता अनुगमन समिति पर्वतको आइतबार बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ ।दल तथा स्वतन्त्र उम्मेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबारदेखि नै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताउनुभयो । ‘उलंघनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन् ।’ उहाँले भन्नुभयो – ‘उल्लंघन हुन नदिन कारबाही गर्ने निर्णय गरेका छाैं।

पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचार सामग्री बढाउने, ठुला ठुला बोर्डहरू राख्ने तथा सवारी साधनमा समेत ठुला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्मा बजारमा उमेदवारहरूले धेरै सवारी साधनमा प्रचार सामग्री बजाउँदा ध्वनि प्रदूषण र जनजीवनसमेत प्रभावित भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहिता उल्लंघनका काम नगर्न भन्दै सोमबार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरूमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब गरेको पाइएमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथोकीले बताउनुभयो । आचार संहिताविपरीत प्रयोग भएका सामग्रीहरू प्रहरीले नियन्त्रणमा लिने उहाँले जानकारी दिनुभयो ।