अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस

डिजिटल घेराबन्दीमा पत्रकारिता: त्रास कि लाभ ?

0
Shares

काठमाडौं ।

आज मे ३ अर्थात् अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसमा युनेस्कोले ‘डिजिटल घेराबन्दीमा पत्रकारिता’ विषयमा छलफल चलाइरहेको छ । विश्वमा मिडियासँग सरोकार राख्ने संस्था र व्यक्तिहरूले हिजो, आज र भोलि यही विषयमा केन्द्रित रहेर औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्ने युनेस्कोको विश्वास छ । नेपालमा पनि पत्रकार महासंघ तथा मिडियासँग आवद्ध अधिकारवादी अन्य संस्थाका पदाधिकारीहरू विभिन्न कार्यक्रममा सहभागी भएर यही विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

‘जर्नलिजम अन्डर डिजिटल सिज’ नाराभित्र निहित आशय आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा डिजिटल युगको प्रवेश लाभकारी छ कि हानिकारक भन्ने नै देखिन्छ । नारामा युनेस्को तटस्थ हुन खोज्दाखोज्दै पनि ‘सिज’ अर्थात् ‘घेराबन्दी’ वा नियन्त्रण भन्ने शब्दले त्रासको भावना बढाएको कुरामा उसको चिन्ता अभिव्यक्त भएको छ । उसले डिजिटल युगमा पत्रकार कति सुरक्षित छन्, सूचनामा पहुँच र गोपनीयताको हक कति कारगार हुनसक्छ भन्ने पक्षमा पनि छलफल चलाइयोस् भन्ने चाहना राखेको छ ।

‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२२, प्रेस स्वतन्त्रता र गोपनीयताको हकमाथि निगरानीको मात्रा बढेका कारण चुनौती थपिएका विषयमा नीति निर्माता, पत्रकार, मिडिया प्रतिनिधि, अभियन्ता, साइबर–सुरक्षा व्यवस्थापक तथा कानुनका ज्ञाताहरू विमर्श गरुन्’ युनेस्कोले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ’– सरोकारवालाहरूको एकीकृत विमर्शले नै समस्याको समाधान गर्नेछ ।

डिजिटल युगको प्रभाव व्यक्तिगत जीवनदेखि राज्यको नीतिनिर्माणसम्म जबरजस्त परेको देखिन्छ । डिजिटल क्रान्तिका कारण जीवनका नियमहरू परिवर्तन भएका छन्, व्यक्तिगत सम्बन्धका आयामहरू बदलिएका छन्, व्यापार–व्यवसायका विधिहरूमा परिवर्तन आएको छ र पहुँचमा रहेका हरेक व्यक्ति डिजिटल माध्यमका लागि समय लगानी गरिरहेका छन् ।‘अवसरहरू पाउनु छ, स्वतन्त्रताको उपयोग गर्नुछ, कानुनी अधिकार लिनुछ र व्यक्तित्व बढाउनुछ भने डिजिटल युगमा अभ्यस्त हुनैपर्छ’ डिजिटल युगको प्रभावका विषयका विज्ञता हासिल गरेका व्यक्तिहरूको धारणा छ केही विशेषताका कारण यससँगको सहयात्रा आवश्यक मात्र होइन, अनिवार्य छ– १. अपूर्व र असाधारण, २. अन्तरक्रियात्मक र साझेदारी गर्न मिल्ने, ३. छिटो–छरितो सेवा, ४. आफैं सञ्चालन गर्नसकिने, र ५. पारदर्शी ।

घर–घरमा पुगेर विवाहको निम्ता कार्ड बाँड्नेहरू मेसेन्जरजस्ता सामाजिक सञ्जालबाट कार्ड पु¥याइरहेका छन्, निम्ताका लागि सुपाडी बाँड्दै हिंडेका नेपालीका लागि यो आफैंमा अपूर्व र असाधारण छ । त्यही मेसेन्जरमा ‘म विवाहमा आउँछु’ वा ‘माफ गर्नुहोला, म आउन सक्तिनँ’ लेखेर अन्तरक्रिया गर्न सकिन्छ । ‘मलाई त यस्तो निम्ता आयो’ भनेर तेस्रो पक्षसँग साझेदारी पनि गर्न सकिन्छ । भौतिक रूपमा निम्तापत्र बोकेर जाँदा लाग्ने समय पनि डिजिटल माध्यमले समाप्त पारिदिएको छ । यस्ता साधन चलाउन सजिलो भएकाले हरेक साक्षर व्यक्ति इन्टरनेट र उपकरणको पहुँचमा छ भने आफैं चलाउन सक्छ । सामाजिक सञ्जालमै निम्तापत्रको फोटो पठाएपछि त्यसको पारदर्शिताका विषयमा शंका गर्नैपरेन ।

डिजिटल युगले सञ्चार शैली, विधि र प्रक्रियामा भिन्नता ल्याइदिएको छ । अभिव्यक्तिका लागि सम्पादकलाई चिठी लेखेर प्रकाशनको मिति कुर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्न साँघुरो र असजिलो बाटो लिनुपर्ने युग समाप्त भएको छ । संस्कृति नै डिजिटलमय भएको छ, बिहान आँखा नखुल्दै मोबाइलको स्क्रिनमा ‘डिजिट’ वा ‘लेटर’ हेर्ने अभ्यास बढेको छ ।कसैको मेसेज आएन, त्यसको प्रतीक्षा गर्दागर्दै निद्रा लागेन, मेसेज आयो तर तुफान लिएर आयो, निद्रा लागेन । डिजिटल युग प्रसन्नता र समस्याको स्रोत बनेको छ । आफन्तकहाँ पाहुँना लाग्न गएको व्यक्ति, ‘डिजिटल माध्यम चलाउनलाई वाइफाई पासवर्ड नै थिएन, बस्न मन लागेन’ भन्दै फर्किएको वा ‘गज्जव चल्ने पावरफुल वाइफाई रहेछ, एकछिनका लागि गएको दिनभरि बसियो’ भन्नेजस्ता बोलहरू यत्रतत्र सुनिन्छन् ।

नेपाली अनलाइन न्यूज पोर्टलहरूमा डिजिटल युगको अभ्यासका विषयमा प्रकाशित समाचार पनि निकै रोचक छन् । अमेरिकामा नातिनी जन्मी, पण्डित हजुरबाले नेपालबाट मेसेन्जर लाइभ न्वारान गरे संस्कृतका मन्त्रहरू पढेर र कम्प्युटर स्क्रिनमा देखिएका नातिनी र सुत्केरीको तस्बिरमा गहुँत छर्केर चोख्याए । धर्म र कर्मकाण्डमा समेत डिजिटल युग अंग बनेर प्रवेश गरिसकेको धेरै उदाहरण पाइन्छ । यही वैशाख तेस्रो साताकै घटना अझ बढी गम्भीर छ ।

दोस्रो विवाह गरेकी आमा भारतको मेघालयमा बित्नुभयो । छोरा काठमाडौंमा मिडियाका प्राध्यापक हुन् । आमाको क्रिया कर्म गर्न दुई दिन लगाएर मेघालय पुगेका छोरालाई हिन्दु धर्मग्रन्थ निर्णयसिन्धु गुगलमा खोजेर स्थानीयले भने, ‘पहिलो विवाहबाट जन्मिएका तीन दाजुभाइले ढिकुरो उठाउनु पर्दैन, आमाको क्रियाकर्म अब पछिल्लो श्रीमान्बाट जन्मिएको भाइले ढिकुरो उठाउँछ ।’ पहिलो बाबुका सन्तानलाई आमाको गोत्र फेरिएका कारण देखाउँदै रमिते बन्न लगाउने माध्यम बन्यो डिजिटल संयन्त्र ।

धार्मिक संस्कार कति विभेदकारी, बाबुले जति आमासँग विवाह गरे पनि छोराले क्रियाकर्म गर्नुपर्ने तर आमाले दोस्रो विवाह गर्दा पहिलो श्रीमान्का छोराले त्यो कर्म गर्न नै नपाउने भनेर प्राध्यापक छोराले फेसबुकमा स्ट्याटस राखे, पुरेत बाजेले नास्तिकको घरमा किरिया गराउँदिनँ भनेर निहुँ खोजे । आशोचको बेला अन्योल र तनाव जारी छ । सामाजिक आन्दोलनको आधार बन्यो डिजिटल माध्यम ।डिजिटल माध्यममा चल्ने अनलाइन न्युज पोर्टलका कारण संसारमा अखबारहरू बिक्न छोडेका छन् । युवा–युवतीको प्रेम गर्ने भरपर्दो माध्यम सामाजिक सञ्जाल भएको छ, मेसेन्जर, ह्वाट्सयाप, वि च्याट आदि फ्री नभएको भए विदेशिएका छोराछोरी र घरमै छुटेका बाबुआमा नियास्रेर बिरामी नै पर्ने थिए ।

वैशाख ३० को निर्वाचनमा नेपालले पनि सामाजिक सञ्जाललाई मजाले प्रयोग गर्दैछ, घरदैलो र जुलुसका कार्यक्रम घटेका छन् । युद्धग्रस्त युक्रेनका कलाकार राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जुलुस, आमसभा आदि नगरी राष्ट्रपति भएको फिचर बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रचारमा ल्याएका छन् । रसियाको धुवाँधार आक्रमणका बीच पनि जेलेन्सी भिडिया सम्बोधनमार्फत् आफ्ना जनता र विश्व समुदायलाई सम्बोधन गरिरहेका छन् ।

खराब नियतका व्यक्तिले दुरूपयोग गर्ने र आचारसंहिता पालना नगरी डिजिटल माध्यमको प्रयोग गर्नेहरूका कारण डिजिटल युग चुनौतीपूर्ण भए पनि, पुराना शैलीका प्रेस र सामाजिक तथा आर्थिक गतिविधिका लागि समस्या बने पनि यसलाई सदुपयोग गर्दै अघि बढ्नुको विकल्प देखिँदैन । डिजिटल युगलाई व्यवस्थापन गर्न सकिन्छ, तिरस्कार गर्न सकिन्न ।