स्वतन्त्र उम्मेदवार नै एमालेको आधिकारिक उम्मेदवार


चिरञ्जीवि मास्के, दोलखा ।

नेपाली कांग्रेस दोलखाका पूर्व उपसभापति एवं बैतेश्वर गाउँपालिकामा उपाध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका छविलाल मोक्तान तमाङ नेकपा एमाले प्रवेश गर्नुभएको छ । पार्टीले निरन्तर वेवास्ता गरेपछि ३३ वर्षको सम्बन्ध अन्त्य गर्दै एमाले प्रवेश गर्नुपरेको तमाङको भनाइ छ ।

दोलखा कांग्रेसका पूर्वउपसभापति तमाङलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरूङले एमालेमा स्वागत गर्नुभएको थियो । तमाङ एमाले प्रवेश गरेपछि एमालेले बैतेश्वर गाउँपालिकामा पार्टीको तर्फबाट उपाध्यक्षमा उम्मेद्ववारी दिनुभएकी नविना लामाको उम्मेदवारी फिर्ता लिएको छ । बैतेश्वरको उपाध्यक्षमा मोक्तान नै एमालेको आधिकारिक उम्मेद्ववार बन्नु भएको छ ।बैतेश्वरको उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका तमाङलाई पार्टीले सघाउने एमाले दोलखाका उपाध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । ‘तमाङ एमाले प्रवेश गरिसक्नुभएकोले उहाँ हाम्रै उम्मेद्ववार हो, प्राविधिकरूपमा मात्र स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेजस्तो हुने हो’– अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

बैतेश्वर गाँउपालिकामा पाँच दलीय गठबन्धनको सहमति अनुसार अध्यक्ष नेपाली कांग्रेसबाट र उपाध्यक्ष नेकपा माओवादी केन्द्रबाट हुने भनिए पनि नेपाली कांग्रेसले अध्यक्षमा छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेतीलाई उम्मेदवार बनाएको छ ।माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन बनाएर अध्यक्षमा नेकपा माओवादी केन्द्रको लक्ष्मण खड्का र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीको कल्याण दाहाललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले माधव घिमिरेलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

यसैबीच, नेपाली कांग्रेस दोलखाले बैतेश्वर गाउँपालिका– २ का पार्टीका पूर्व जिल्ला उपसभापति छविलाल मोक्तान तमाङ, मेलुङ गाँउपालिका– ४ का पूर्व वडा अध्यक्ष छत्रबहादुर तमाङ, कालिञ्चोक गाउँपालिका– ४ का कांग्रेस वडा सभापति केदार कार्की, कालिञ्चोक गाउँपालिका– ४ का क्षेत्रीय प्रतिनिधि यमबहादुर कार्की तथा कालिञ्चोक गाउँपालिका– १ का कांग्रेस वडा सभापति सहदेव खड्कालाई कारबाही गरेको छ ।

स्थानीय तह निर्वाचनको क्रममा अन्य पार्टीलाई सहयोग पुग्ने गतिविधि गरेकोले पार्टीमा भविष्यमा समेत अयोग्य ठहरिने गरी कारबाही गरिएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताउनुभयो ।