१८ महिनादेखि चीन प्रवेश पास बन्द


रसुवा  ।

रसुवाबासीका लागि उपलब्ध गराउँदै आएको नेपाल– चीन आगमन प्रस्थान अनुमतिपत्र ( चाईना प्रवेश पास) वितरण १८ महिना देखि रोकिएको छ ।

कोभिडका कारण रसुवागढि नाकावाट मानिसको आवतजावत रोकिएसंगै पास वितरण पनि रोकिएको हो । रसुवागढि अध्यागमन कार्यालय ले २०७७ मङ्सिर २७ गतेदेखि पास वितरण रोकेको छ । चीनसंग सिमा जोडिएको नेपालको सबै जिल्लाका बासिन्दाले नागरिकताको आधारमा चीनको पास पाउँदै आएका छन् ।

नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण पनि बन्द गरिएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आएपछि पुनः पास सञ्चालनमा ल्याइने बताइएको छ । रोजगारीका लागि प्रचुर सम्भावना बोकेको केरूङ जान रसुवाका झन्डै १२ हजारले चाइना प्रवेश पास पाउँदै आएका थिए । त्यसयता जिल्लाका १२ हजार एक सय ४३ जनाले पास लिएको अध्यागमन कार्यालयमा तथ्यांक रहेको छ ।

कम खर्चमा धेरै आम्दानी हुने आवत जावत गर्न सहज र राहदानी वनाउनुपर्ने झन्झट नहुने भएपछि २०७२ पछि केरूङ जानेको सख्या वढेको थियो । केरूङमा झन्डै एक हजार नेपाली कोरोना महामारी सुरू हुनुभन्दा अगाडि कार्यरत थिए । त्यहाँ रहेका नेपालीमध्ये धेरै जसो होटल,ट्रान्सपोर्ट र ब्लक निर्माण लगायतका क्षेत्रमा कार्यरत थिए ।