सशस्त्रको आईजीपीमा अर्याल


सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

सशस्त्रमा आफ्नो ब्याचीमध्ये एक मात्र अतिरिक्त महानिरीक्षक अर्याल सीमा सुरक्षासम्बन्धी जानकार मानिनुहुन्छ । उहाँले यसअघि सशस्त्र प्रहरीको प्रवक्ताका रूपमा पनि कार्य गर्नुभएको थियो ।२०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तरण हुनुभएको थियो ।

सोही वर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका उहाँ २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक २०७० सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र २०७५ सालमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनुभएको थियो ।चारचार पटकसम्म संयुक्त राष्ट्रसंघीय झण्डामुनि रहेर मिसन सेवा अनुभव हासिल गरेका अर्यालसँग विभिन्न १० भन्दा बढी इकाइमा प्रमुख भई कार्य गरेको अनुभव रहेको छ ।

स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढी महत्वपूर्ण व्यावसायिक तालिम हासिल गरिसकेका उहाँ राष्ट्रका तर्फबाट सुकीर्तिमय राष्ट्रदीप तृतीय सुप्रबल जनसेवाश्री, गोरखा दक्षिण बाहु चौथालगायत विभिन्न ८ भन्दा बढी विभूषण, मानपदवी, पदक तथा अलंकारहरूले विभूषित हुनुहुन्छ ।उहाँ त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र र राजनीतिशास्त्रका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनसमेत गरी ४ संकायमा स्नातकोत्तर उत्तीर्ण हुनुहुन्छ ।