निर्वाचन आचार संहिताविपरीत महानगर कर्मचारी चुनाव प्रचारमा

0
Shares

पोखरा । 

पोखरा महानगरपालिकाका नगर प्रहरी (असई) उपेन्द्र गिरी यतिबेला नेकपा एमालेको चुनावी अभियानमा मात्रै देखिन्छन् ।पोखरा नगर उपत्यका विकास समितिमा कार्यरत नगर प्रहरी गिरी कार्यालय कम पार्टीको काममा बढी पुग्ने गरेका छन् । उहाँ निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै चुनाव प्रचारप्रसारमा हिँड्नुभएको हो ।

नेकपा एमालेले शनिबार पोखरामा घोषणापत्र सार्वजानिक गरेको थियो । त्यहाँ गिरी उपस्थित हुनुभएको थियो । उहाँलाई यतिबेला एमालेको चुनावले नराम्ररी छोएको छ । उहाँ आचार संहिताविपरीत एमालेको चुनावी प्रचार प्रसारको घरदैलोमा खुलेरै हिँड्नुभएको छ ।कुनै पनि कर्मचारी पार्टीको झण्डा बोकेर हिँड्न नपाउने प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पराजुलीले बताउनुहुन्छ । एक राष्ट्र सेवक कर्मचारीले आस्थालाई समेत आफ्नो सेवाको समयमा छाड्नुपर्ने हुन्छ । तर, राष्ट्र सेवक कर्मचारीले नै पार्टीको झण्डा बोकेर हिँडे पनि त्यसले उक्त कार्यालयमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न यति बेला उठेको छ ।

राज्यले कर्मचारीहरूका लागि एने समेत बनाएका छन् । निजामति सेवा ऐन २०७६ मा स्पष्ट रूपमा भनिएको छ की ‘निजामती कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिनु हुँदैन ।’ त्यति मात्र होइन ऐनले नै ‘यस्तै निजामती कर्मचारीले अख्तियारवालाको पूर्व स्वीकृति नलिई अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन ।’

निर्वाचन कार्यालयले बारम्बार आचार संहिता पालना गर्न अनुरोध गरिरहेको छ । तर, कर्मचारी भने आचार संहिताको व्यवस्ता गर्दै हिँडिरहेका छन् । निर्वाचन अधिकृत पराजुलीले प्रमाण लिएर आएको खण्डमा उहाँमाथि कारबाही गर्ने बताउनुभयो । ‘हामीले प्रमाणको आधारमा कारबाही गर्न सक्छांै करारमै भए पनि पार्टीमा हिँड्न पाउँदैनन् । यो आचारसंहिता विपरीत हो’ –उहाँले भन्नुभयो ।

महानगर कर्मचारी स्रोतका अनुसार उहाँ कार्यालय बिहान एकैछिन आउने र दिउँसो पार्टीको चुनाव प्रचारमा हिँड्ने गर्नुहुन्छ । उहाँले भिडियो खिच्दै मैपनि एमाले सै पनि एमाले भन्दै सामाजिक सञ्जालमा समेत चुनाव प्रचार प्रसार गरिरहनुभएको छ ।कार्यालयमा समेत उहाँले पार्टीकै कुरा गर्दै धाक लगाउने गरेको स्रोतले बतायो । यस विषयका लागि महानगरपालिकाका प्रशासन प्रमुख बलराम रिजालसँग सम्पर्क गर्न खोजे पनि फोन उठेन ।