निर्वाचन आफ्नो पक्षमा ल्याउन दलहरुको कसरत

0
Shares

पाल्पा । 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा ल्याउन तथा मतदाता रिझाउनका लागि दलहरु लागिपरेका छन् । निर्वाचनका लागि मनोनयनपत्र दर्ता गरेसँगै दलहरु घरदैलोमा जाने र मतदातालाई आफ्नो पक्षमा ल्याउने कसरतमा लागेका हुन् ।

जसका कारण पाल्पाका दश स्थानीय तहमा चुनावी माहोल बढ्दै गएको छ । दलहरु आफ्ना कार्याकर्तालाई परिचालन गरेर घर–घरमा जाने र विभिन्न चुनावी रणनीति र चुनावी घोषणापत्रमार्फत मतदातासँग मत माग्न थालेको पाइएको छ । पाल्पाको स्थानीय तहको निर्वाचनको इतिहास हेर्ने हो भने २०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो वचश्व राखेको नेपाली कांग्रेस त्यसपछि २०७४ सम्मका संघीय र स्थानीय निर्वाचनमा आफ्नो शाख गुमाएको देखिन्छ भने नेकपा एमालेले २०५१ सालको प्रतिनिधिसभा र २०५४ सालको स्थानीय निर्वाचनपश्चात् बलियो पकड राख्दै आएको छ, जुन क्रम अघिल्लो निर्वाचन सम्म पनि कायमै रहेको देखिन्छ । विगतमा चुनावताका एउटा कुरा गर्ने र निर्वाचन जितेर गएपछि मतदाता बिर्सने तथा वाचा पूरा गर्न नसक्दा पाल्पामा शिक्षा स्वास्थ्य र पर्यटनको नारा नारामा नै सीमित हुन पुगेको त्रिभुवन वहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले भन्नुभयो ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा १० पालिकाको ६ वटा प्रमुख र ७ वटा उपप्रमुखमा नेकपा एमाले, ४ प्रमुख, ३ उपप्रमुखमा नेपाली कांग्रेस, ८१ वडामध्ये, ४१ वटा वडामा नेकपा एमाले, ३६ वडामा नेपाली कांग्रेस र ४ वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो ।आगामी स्थानीय निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता भए तापनि ५ दलीय गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता गरेपछि राजनीतिक दलहरु प्रसार–प्रसारका लागि पालिकादेखि वडा तहसम्म घरदैलो अभियानमा जुटेका छन् ।

मतदातालाई रिझाउनका लागि यहाँका राजनीतिक दलहरुले विगतमा जस्तै यसपटक पनि घोषणापत्रलाई निरन्तरता दिएका छन् । तर, विगतमा निर्वाचन जितेका दलहरुले घोषणापत्रअनुसार काम नगर्दा मतदाता भने असन्तुष्ट छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका अनुसार यहाँ रहेका दुई नगरपालिका र आठ गाउँपालिकाको ८१ वडामा ४ सय २५ जना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका लागि १ हजार १ सय ३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाल्पामा २०७४ सालको एमालेको विरासत भत्काउन नेपाली कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन एकजुट भई चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एमाले पहिलेको विरासतलाई सके बढाउने नसकेमा कम्तीमा पनि कम हुन नदिने रणनीतिमा लागेको देखिन्छ ।

नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य र पर्यटनको पहिचान बोकेको पाल्पालाई नमुना जिल्ला बनाउने योजनाका साथ अगाडि बढेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुहन्छ । उहाँले यहाँको विकासका लागि नेपाली कांग्रेसले पाँचदलीय गठबन्धन गरेर सामूहिकरूपमा चुनावी अभियानलाई तीव्रता दिएको जानकारी दिनुभयो ।स्थानीय तहको निर्वाचनका लागि पाल्पाका १० पालिकामध्ये ६ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस, २ प्रमुख र उपप्रमुखमा नेकपा माओवादी, २ प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले सिटको भागवण्डा गरी उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । गठबन्धनले २०७४ सालमा जितेका वडाहरु सोही पार्टीलाई, एमालेले जितेका स्थानमा दोस्रो स्थानमा रहेको पार्टीलाई दिने गरी भागवण्डा मिलाएका छन् ।

यद्यपि गठबन्धनका कारण नेपाली कांग्रेसमा भागवण्डा मिलाउँदा केही पालिकाहरुमा नेपाली कांग्रेस नेताहरुले असन्तुष्ट जनाएका छन् । लामो समय पार्टीमा योगदान पु¥याएका केही नेताले पार्टीले आफूहरुलाई पाखा लगाउँदै नयाँ व्यक्तिलाई टिकट दिएको भन्दै स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । त्यस्तै, नेकपा एमालेका केही व्यक्तिले पनि पार्टीमा असन्तुष्ट जनाउँदै पालिका प्रमुखदेखि वडा सदस्यसम्म स्वतन्त्र उम्मेदवारी दिएको अवस्था छ ।नेकपा एमाले पाल्पाले स्वास्थ्य, शिक्षा, पर्यटन तथा कृषि पशु रोजगारीमा केन्द्रित गर्दैै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य सडक, खानेपानीलगायत जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयहरु निर्वाचित जनप्रतिनिधिहरुले सम्बोधन गर्ने नेकपा एमालेका युवा नेता ठाकुर गैरेले बताउनुभयो ।

पाल्पाका ९ वटा स्थानीय तहमा सत्ता गठबन्धनले आ–आफ्नै चुनाव चिह्नबाट उम्मेदवारी दिएका छन् भने, तानसेन नगरपालिकामा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले कांग्रेसको निर्वाचन चिह्नमा रुखबाट उम्मेदवारी दिएका छन् । १ लाख ९९ हजार ६ सय ९० जना मतदाता रहेको पाल्पामा १ सय १८ मतदानस्थल र २ सय ४७ मतदान केन्द्र रहेका छन् ।