दलित युवाको कुटीकुटी हत्या

तिमी दलितहरू बढी राजनीति गर्न थाल्यौ भनेर धम्क्याउँदै छोरामाथि जाइलागेको मृतकका बुबाको आरोप

0
Shares

राजविराज  । 

विवाहमा जन्तीसँगै ल्याइएको डीजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी सप्तरीका एक दलित युवाको मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका–४ पसेराका २५ वर्षीय सन्तलाल पासवानको विराटनगरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा गत सोमबार राति जन्ती आएको थियो ।डीजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरूलाई डीजे बाजामा नाच्न दिनुप¥यो भन्दै गाउँका केही गैरदलित युवाले केही समय जन्तीलाई रोकेका थिए ।

वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । ‘हामीलाई अझै नाच्नु छ, केहीबेर अझै पर्खनु’ भन्दै गैरदलित युवाहरूले जन्तीलाई रोक्न खोजेपछि विवाद बढेको थियो । नाच्न पुगेका युवाहरूले बेहुली पक्षकालाई गाली गलौज शुरू गरेपछि सन्तलालसमेतले युवाहरूलाई विवाद नगर्न भनी सम्झाईबुझाई गर्न खोजेका थिए ।

जन्ती बेहुली घरतर्फ गएको केही समयपछि हुल बाँधेर पुगेका युवाहरूको जत्थाले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेपछि उनको अवस्था गम्भीर बनेको बुबा राम अशिष पासवानले बताउनुभएको छ । बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा) ले वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाई समेत लिएर गैरदलित युवाहरूले आफ्नो छोरामाथि आक्रोश पोखेको उहाँको आरोप छ । ‘तिमी दलितहरू बढी राजनीति गर्न थाल्यौ’ भनेर धम्क्याउँदै छोरामाथि जाइलागेको उहाँको भनाइ छ ।

उहाँले विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको जानकारी दिएका छन् । घाइते सन्तलाललाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगेपछि त्यहाँ उपचार हुन नसक्दा विराटनगरस्थित नोबेल अस्पताल पु-याइएको थियो ।उपचारकै क्रममा बुधबार बिहान सन्तलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको बताउँदै प्रहरी नायव उपरीक्षक काफ्लेले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।उपचार क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरूले बुधबार बिहानदेखि पूर्व पश्चिम राजमार्ग अमहा चौकमा ३ घण्टा चक्काजाम गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरेर पीडितलाई न्याय दिने भन्नेमा सहमति हुँदा राजमार्ग चालु भएको थियो ।