टिकट वितरणको विषयले देशभर असन्तुष्टि : कोइराला


काठमाडौं  । 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणको विषयले देशभर असन्तुष्टि बढेको बताउनुभएको छ । साथै, उहाँले टिकट वितरण गर्ने जिम्मा पाएका नेताहरूले आर्थिक चलखेल र अनियमितता गरेको आरोपसमेत लगाउनुभएको छ ।

बुधबार बिहान प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेता कोइरालाले टिकट वितरणमा असन्तुष्टि राख्दै कैयौं कांग्रेस नेता तथा कार्यकर्ता कांग्रेस छोडेर अन्य पार्टीमा गएको पनि बताउनुभएको छ । ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन् ।

कैयौं साथीहरू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ’, कोइरालाले भन्नुभएको छ– ‘ती साथीलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु ।’ टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेको भन्दै उहाँले त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरूले भोगिरहेको पनि बताउनुभएको छ ।

‘टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भनी बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा साथीहरूबीच उठाएका थियौं, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन’, विज्ञप्तिमा भनिएको छ– ‘अहिले म साथीहरूको असन्तुष्टि देशभरिबाट सुन्दै छु, टिकट वितरणलाई लिएर ।’

कोइरालाले कांग्रेसभित्र आफूसँग असहमत भएकै कारण कैयन साथीको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको गम्भीर आरोप पनि लगाउनुभएको छ । ‘कैयन साथीलाई राज्य र पार्टी संयन्त्रको दुरूपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन’, उहाँले भन्नुभएको छ– ‘पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ ।’

कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिने भन्दै कोइरालाले कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरूबाट पनि निर्वाचनपछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने बताउनुभएको छ ।