दुई साताभित्र उपत्यकाका ६ स्थानमा आगलागी

0
Shares

काठमाडौं  । 

गर्मीयाम शुरू भएसँगै राजधानीमा आगलागीका घटना बढ्न थालेका छन् । यो महिनामा मात्र ६ स्थानमा आगलागी भएको छ । अधिकांश घटना चुरोटको ठुटोका कारण भएको छ ।

वैशाख १ देखि अहिलेसम्म ६ स्थानमा आगलागी भएको जानकारी दिँदै दमकल कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले भन्नुभयो– ‘हिजो बुधबार हल्चोकको पश्चिमी जंगल र त्रिभुवन विश्वविद्यालयको गेट नजिक झाडीमा आगालागी भएको थियो ।

वैशाख २ गते नागार्जुन जंगलमा, ४ गते तार्केश्वर नगरपालिकास्थित शान्तिधाम नजिकैको जंगलमा, १३ गते म्हेपी मन्दिरको जंगल र चोभारको जंगलमा आगलागी भएको थियो ।’ तीनदिन अघि शिवपुरीमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । दमकलले मात्र सो आगलागी नियन्त्रण गर्न नसकेपछि सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएकोे थियो ।

सो आगलागीको मुस्लो र धूवाँका कारण उपत्यकाको मौसम धुम्म भएको छ । दमकल कार्यालय प्रमुख श्रेष्ठले कसैले जानेर त कसैले अन्जानमा आगो लगाउँदा जंगलमा ठूलो क्षति भएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा सबैजसो आगलागीको घटना चुरोट सल्काएर फालेकै कारणबाट हुने गरेको छ ।दिनहुँजसो आगलागीको घटना बढ्न थालेपछि दमकलका कर्मचारी हैरान भएका छन् । एक अग्नि नियन्त्रकले नेपाल समाचारपत्रसँग भने – ‘पछिल्लो १५ दिनमा हामी सुत्नसमेत कठिन भएको छ ।’

पछिल्लो एक महिनामा १३ स्थानमा आगलागीको घटना भएको दमकल कार्यालयको तथ्यांक छ । फागुन ११ गते त्रिवि खेल मैदान, १२ गते चोभार जंगलमा आगलागी भएको थियो । चैत १५ गते ककनी, २१ गते बालाजु उद्यान र त्रिवि क्रिकेट मैदानमा आगालागी भएको दमकल कार्यालयले जनाएको छ ।

उपत्यकालाई वरिपरि जंगलले ढाकेका कारण गर्मी याममा जंगलमै बढी आगलागीका घटना हुने गरेको दमकल प्रमुख श्रेष्ठको भनाइ छ । कतिपय गोठालाले नयाँ घाँसका लागि जंगलको पत्कर जलाउने गरेका छन् भने कतिले अञ्जानमा चुरोट सल्काएर सलाई वा चुरोटको ठुटो फाल्ने गरेका छन् ।

आगलागी नियन्त्रण गर्न कामपालाई विगतमा जस्तो समस्या नभएको र पानीको प्रशस्त व्यवस्था गरेको जिकिर गर्दै विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले भन्नुभयो– ‘३० फिट अग्लो स्थानमा आगलागी भए नियन्त्रण गर्न सक्ने ल्याडरको व्यवस्था छ ।’ उहाँका अनुसार १० तलासम्म आगालागी नियन्त्रण गर्न सक्ने क्षमताको यन्त्र रहेको छ । आगलागीका घटना न्यूनीकरण गर्न महानगरले हरेक ठूला भवनमा फायर इस्टिङगुइजर (अग्नि नियन्त्रक यन्त्र) राख्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्न लागेको पनि श्रेष्ठले बताउनुभयो ।

विपद् व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले गर्मी लागेसँगै आगलागीका घटना बढ्न सक्ने भएकाले सबैजना सचेत हुनुपर्नेमा जोड दिँदै आगलागीका घटना हुन नदिने वडास्तरबाटै जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । लगातार आगलागीका घटना बढेपछि कामपासँग हाल चालु अवस्थामा ४ वटा दमकललाई भ्याइनभ्याई छ ।

कामपासँग हाल २ वटा फायरपम्प छ । बौद्धस्थित रामहिटीको दमकल स्टेसनमा एउटा दमकल राखिएको छ । विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार कामपाले तीनवटा नयाँ दमकल, ५ वटा फायर फाइटर खरिद गर्ने तयारी गरेको छ ।